२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

‘द डार्क फाइल’ प्रकरणमा सिधाकुराका सम्पादकसहित तीन जनाविरुद्ध मुद्दा दायर

‘द डार्क फाइल’ प्रकरणमा सिधाकुराका सम्पादकसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीनजनाविरूद्ध मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

सिधाकुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर भएको हो । तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा अदालतमा पेस भएको छ । प्रतिवादीलाई १ लाख रुपैयाँसम्मको जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबी गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले विद्युतीय कारोबार ऐन २०६३ र मुलुकी अपराध संहिता २०७४ को दफा १६८ अनुसार अपमानजनक व्यवहारको कसूरमा सजाय र क्षतिपूर्ति मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।

झुटा प्रमाण बनाउन नहुनेभन्ने कसुरमा समेत प्रतिवादीविरुद्ध थप अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘डार्क फाइल’ नाम दिएर प्रसारित उक्त सामग्री ‘फेक’ भएको प्रयोगशाला परीक्षणबाट पनि पुष्टि भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका स्टिङ अपरेसनसम्बन्धी भ्रष्टाचारका मुद्दा मिलाउन सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता हरि उप्रेती, कान्तिपुर मिडिया ग्रुपपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासहितका व्यक्ति सम्मिलित बैठकको स्टिङ अपरेसन भन्दै सिधाकुरा अनलाइन र अनलाइनको युट्युब च्यानलमार्फत गत वैशाख १४ मा ‘डार्क फाइल’ नाम दिएर अडियो सामग्री प्रसारण/ प्रकाशन गरिएको थियो ।

उनीहरुविरुद्ध सर्वोच्च अदालतल आफैँले सरोकारमा लिएर चलाएको अवहेलना मुद्दा सर्वोच्चमा विचाराधीन छ । सर्वोच्चको संयुक्त इजलासले गत जेठ ३० गते बृहत् पूर्ण इजलासमा पठाउन आदेश गरेपछि नौजना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलास बनाउने निर्णय भएको छ । बृहत् पूर्ण इजलासका लागि पेसीको मिति भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij