२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया सुरु भएको छः प्रधानमन्त्री

कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया सुरु भएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् ।

‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक शुक्रबार लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए ।

‘हजारौँ सहिद, बेपत्ता योद्धा र लाखौँ क्रान्तिकारी योद्धाको त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ, यी उपलब्धिलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ’, प्रधानमन्त्री दाहालले भने । उनले कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको बताए ।

जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै उनले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको जनयुद्धको दौरानमा समेत उनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरुप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोकको पिस्करमा जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा गरिरहेको शान्तिपूर्ण सांस्कृतिक कार्यक्रममा आक्रमण हुँदा पिस्करमा इले थामी र वीरबहादुर थामीलगायतको ज्यान गएको थियो ।

उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलियालगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते भएका थिए ।

पुस्तक लोकार्पण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अमृतकुमार बोहोरालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij