२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

राजदूत फिर्ता बोलाएर सरकारले अन्तर्राष्ट्रिय कुटनीतिमा विश्वसनीयता गुमाएको साउदको दाबी

राजदूत फिर्ता बोलाएर सरकारले अन्तर्राष्ट्रिय कुटनीतिमा विश्वसनीयता गुमाएको साउदको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद साउदले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाए ।

उनले सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको बताए । उनले भने, ‘नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदूत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ ।’

यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत–चीन सँगको सम्बन्धलाई सन्तुलित र राम्रो बनाउनुपर्नेमा उल्टो सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति पनि एकलौटी बनाएर सरकार अघि बढ्न खोजोको आरोप लगाए ।

उनले भने, ‘राष्ट्र निर्माता पृथ्वी नारायण शाहले जुन कुरा भन्नुभएको थियो नेपाल दुई ढुंगा बीचको तरुल हो । त्यसको मापन उडाउने प्रयत्न गरिएको छ । पृथ्वी नारायण शाहले दुई ढुंगालाई निर्जिव भन्नुभएको थियो बलियो थिए तर, निर्जिव थिए । तरुल गतिशिल थियो, तरुल वृद्धि हुँदै थियो, तरुल सजिव थियो । तर अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रुपमा भन्दा पनि डाइनामिट फिट गरेर राख्ने प्रयत्न गर्नुभएको छ ।’

उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौँ भन्ने सन्देश दिने र त्यसलाई सत्तासमीकरण बनाउन प्रयोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौँ भन्ने कच्चा कुटनीतिक चाल नचाल्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij