काठमाडौं । चीनका उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न उपविदेशमन्त्री सुन बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।
भेटमा दुई पक्षीय हीत, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए ।
उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।
उनले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताए ।
उपविदेशमन्त्री वेइतोङले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका थिए उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा भाग लिन सोमबार नेपाल आएका हुन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij