२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

१२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु

१२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु भएको छ ।

संविधानसभा सदस्य सञ्चकपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन् । आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो ।

अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने बताए । ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए । ‘जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु हो ।

जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई शेयर उपलब्ध गराउँछन् । प्रत्येकले शेयरमा लगानी गर्नुहोस्,’ उनले भने । आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उनले आग्रह गरे ।

आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४.८० र सुक्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ निर्धारण गरिएको छ ।

आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार चार सय २३ किलोवाट घण्टा तथा सुक्खायाममा नौ करोड १६ लाख ९२ हजार आठ सय ७५ किलोवाट घण्टा हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij