२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

दोस्रो वर्षमा समाजप्रेस र हाम्रा प्रतिवद्धता

दोस्रो वर्षमा समाजप्रेस र हाम्रा प्रतिवद्धता

‘समाजस्तै समाचार’ को अवधारणासहित नेपाली डिजिटल पत्रकारितामा पर्दापण गरेको समाजप्रेसडटकमले स्थापनाको पहिलो वर्ष पार गरेको छ । गत वर्ष बैशाख ११ मा लाेकतन्त्र दिवसकाे अवसरमै समाजप्रेसले आफ्नो संप्रेषण सुरु गरेको थियाे ।

कुनैपनि समाज जस्तो हुन्छ त्यहाँ हुने घटना परिघटना पनि त्यस्तै हुन्छ । अर्थात समाजको चरित्र समाचारमा पनि प्रतिविम्बित हुन्छ । समाचारको आर्थिक, सामाजिक, राजनीतिक चेतनास्तर नै समाचार र विचार निर्माणमा निर्णायक हुन्छन् । यसर्थ नेपाली समाज सुहाउँदो समाचारको अवधारणासहित विगत एक वर्षदेखि औपचारिक रुपमा समाजप्रेसले सूचना संप्रेषण गरिआएको छ ।

नेपाली पत्रकारिताको लामो इतिहासमा समाजप्रेसले गुजारेको १ वर्षले खासै मानक स्थापित त गर्दैन तर जनताई सूसूचित गर्न प्रयत्न गर्नेहरुको लाममा अन्तिममै उभिएर पनि समाजप्रेसले आफूलाई जिम्मेवार सञ्चारमाध्यमको रुपमा उभ्याएको छ । समाचारमा हतारो र विचारमा खरो हुने नाममा सामाजिक मूल्य मान्यतालाई तिलाञ्जलि दिने काम हामीले गरेका छैनौं । समाचारको प्रस्तुतिलाई भड्किलो बनाउने काम हामीबाट भएको छैन । पत्रकार आचासंहिता र विश्वव्यापी मान्यताहरुप्रति हामी प्रतिवद्ध छौं । समाजप्रेस दोस्रो वर्षमा प्रवेश गरिरहँदा यसले दशकौ अगाडिसम्मको यात्रा सुनिश्चित गर्दैछ ।

पछिल्लो एक वर्षपनि नेपाल एक अस्थिर राजनीतिक घटनाक्रमबाट गुज्रियो । सरकार र गठबन्धनको हेरफेरको क्रमले सुशासन र विकासको जनचाहनालाई ओझेलमा पारी नै रह्यो । राजनीतिक दलहरुले सत्तालाई केन्द्रमा राखेर गरेका गतिविधिले देशभित्र र देशबाहिरका नेपालीलाई राहत दिन सकेन । संविधान निर्माणपछिको दोस्रो आमनिर्वाचनपश्चात परिवर्तनका एजेण्डाहरु स्थापित हुने र विकासका सम्भावनाहरु खुल्ने आम अपेक्षा थियो । तर बितेको वर्ष सरकार गठन र पुनगर्ठन, गठबन्धन निर्माण र विभाजनको ‘उथुलपुथुल’ ले नेपाली समाजलाई उत्साह दिन सकेन ।

राजनीतिक अस्थिरता नै मुख्य कारक बनेपछि वर्षभरी अर्थतन्त्रमा सकरात्मक संकेतहरु देखिएनन् । भुटानी शरणार्थी प्रकरण, अवैध सुन ओसारपोसार एवं सहकारी ठगी प्रकरणका हेडलाइनहरुले वर्षभरी सञ्चारमाध्यममा स्थान पाइ नै रहे । यद्यपी यी काण्डहरुको निष्पक्ष छानबिन र वास्तविक दोषीमाथि कारवाहीको अपेक्षा पूरा हुन सकेको छैन । सत्तामा लामो समय बसेका परम्परागत राजनीतिक दलदेखि वैकल्पिक राजनीतिको नारा बोकेकाहरुसम्मको व्यवहारमा तात्विक भिन्नता महसुस गर्न पाइएन । वैदेशिक रोजगारी र अध्ययनका नाममा युव पलायनको क्रम यो वर्षपनि रोकिएन । गैर आवासीय नेपालीहरुले आशाको धरोहर मानेको एनआरएनएमा देखिएको विवाद र न्यायिक निरुपणपछि पनि उत्पन्न परिस्थितिले गैरआवासीय नेपालीको अभियानमा पनि संकटको बादल मडारिएको अवस्था रह्यो । समाजका कुनैपनि क्षेत्रबाट उल्लेखनीय उत्साह सञ्चार हुन नसकेको वर्षका रुपमा पछिल्लो एक वर्षको अवधी रह्यो ।

समय सधै एकैनाशको रहँदैन । परिवर्तनशील समयको चापसँगै नेपाली समाजको अवस्था सुधार होला भन्ने अपेक्षा गर्नैपर्ने अवस्थामा हामी छौं । नेपाली समाजको सरोकारलाई केन्द्रमा राख्ने डिजिटल सञ्चारमाध्यम हुनुको नाताले आगामि दिनमा अझै सत्यतथ्य समाचार, सुसंस्कृत विचार र खोजमूलक सामाग्रीहरुको खुराक हाम्रा पाठकहरुलाई प्रस्तुत गर्ने प्रतिवद्धता जनाउँछौं । समाजप्रेसको दोस्रो वर्ष प्रवेशसँगै मल्टिमिडियामा आधारि समाचार सामाग्रीहरुको उत्पादन र प्रसारणमा विशेष प्रयत्न गर्ने हाम्रो तयारी छ । भ्यूअरसीपको लोभमा तथ्यहीन समाचार, आधारहीन हेडलाइन र अतिरञ्जनाको व्यापार समाजप्रेसले गर्ने छैन । स्थापनाको पहिलो वर्षमा हाम्रा पाठक, शुभेच्छुक एवं विज्ञापनदाताबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै निरन्तर सहकार्यको अपेक्षा गर्छौ । समाजप्रेसलाई मूलधारको विश्वसनीय सञ्चारमाध्यमका रुपमा स्थापित गर्न हाम्रो दोस्रो वर्षभरीको मेहेनत लक्षित हुनेछ । सबैमा आभार ।

– झरना अधिकारी 

ग्लोबल इडिटर , समाजप्रेस

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij