२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

‘अञ्जिला’ आगामी वर्ष रिलिज हुने

‘अञ्जिला’ आगामी वर्ष रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्ष २०८१ माघ ११ गते रिलिज गर्न लागिएको बताए । यस चलचित्रमा एञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ ।

उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय रहेको छ ।

यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ । श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन् । एञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ । निर्देशक चाम्सले आफ्नो निर्देशन करियरमा यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन् ।

एञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिएको निर्देशक चाम्सले जानकारी दिए । सफल खेलाडी बन्नु अगाडि एञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखिन् असम्भव भन्ने कुरा नहुने सन्देश चलचित्रले दिने चाम्सले बताए ।

२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् ।

तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । एञ्जिला ‘पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने एञ्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij