काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरण र जागरणका लागि आफ्नो पार्टी अग्रणी भूमिकामा रहेको बताएका छन् ।
एक सय १४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मोतिदेवी स्मृति केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सामाजिक रुपान्तरण, महिला जागरण र सामाजिक न्याय प्राप्तिका अभियानमा एमाले अग्रस्थानमा रहिरहने बताए ।
अध्यक्ष ओलीले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने हल्ला सत्य होइन भन्दै अहिले विभिन्न तीन तहमा सम्पूर्ण जनप्रतिनिधिमध्ये ४० प्रतिशत महिला हुनु र राज्यका निकायका ३३ प्रतिशत महिला आरक्षण हुनुजस्ता विषयलाई उपलब्धिपूर्ण मान्नुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष ओलीले ‘सङ्घर्षशील योद्धाहरू’को लोकार्पण गरे भने सामाजिक रूपान्तरणकर्ता, उत्कृष्ट शोधार्थी र कम्युनिष्ट आन्दोलनमा योगदान गरेकालाई सम्मानित गरे । आज सम्मानित हुनेमा प्रेरणादायी महिलामा धम्मावती गुरुमा, युवा वैज्ञानिक रोजिता बुद्धाचार्य, वल्ड लाइफ फोटोग्राफर विनिता भण्डारी, उद्यमी सावित्री थापा, समाजसेवी, शान्ति चड्डा, राजनीतिककर्मी सोना छेदुङ लामा, साहसिक बस चालक रेणुका थापा, दुर्गमकी चिकित्सक तुल्सी शाही, सामाजिक अभियन्ता, सोनिया सदाय र मानव बेचबिखनविरोधी अभियानकर्ता चरिमाया तामाङ छन् ।
केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्ना निजी स्वार्थ त्यागेर समाज रुपान्तरण र महिला जागरणमा योगदान गरेका महिलालाई भविष्यमा पनि सम्मान गरिने जानकारी दिइन् । नेपाल कम्युनिष्ट पार्टीका एक संस्थापक मोतिदेवी श्रेष्ठको स्मृतिमा उक्त केन्द्र स्थापना भएको हो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij