२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्तिवार्ता पुनः सुरु गर्न सहमत

पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्तिवार्ता पुनः सुरु गर्न सहमत

रोयटर्स । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकाको मध्यस्थतामा युक्रेनसँग शान्तिवार्ता पुनः सुरु गर्न सहमत भएका छन् । क्रेमलिनका अनुसार वार्ता आगामी महिनादेखि सुरु हुन सक्नेछ ।

दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रयासस्वरूप पुटिनले बुधबार अमेरिकी विशेष दूत स्टिभ विटकफसँग भेटवार्ता गरेका थिए ।

सेन्ट पिटर्सबर्गस्थित भव्य शाही दरबारमा भएको यो भेट पुटिन र विटकफबीचको नवौँ प्रत्यक्ष भेट हो । भेटको सुरुआत सद्भावनापूर्ण कदमबाट भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि रुसले हिरासतमा रहेका सेवानिवृत्त अमेरिकी विद्यालय शिक्षक स्टेफन हबर्डलाई रिहा गरेको थियो ।

बुधबारको भेटवार्ताका क्रममा अमेरिकाले युक्रेनलाई दिँदै आएको समर्थन कमजोर बनाउँदै लगेको भन्दै किएभ र उसका सहयोगी राष्ट्रहरूमा चिन्ता बढिरहेको थियो । अमेरिकाले रुसी आक्रमणसम्बन्धी वास्तविक समयको गुप्तचर सूचना उपलब्ध गराउन रोक्ने तथा युक्रेनी सेनाको सञ्चार प्रणालीमा अवरोध पुर्याउने गरेको आरोपसमेत लागेको छ ।

ट्रम्पले आफ्नो सफल चुनावी अभियानका क्रममा युक्रेन युद्ध २४ घण्टाभित्र अन्त्य गर्ने प्रतिबद्धता जनाएको दुई वर्षभन्दा बढी समय बितिसकेको छ । तर, युद्ध अन्त्य गर्ने उनको प्रयास अझै सफल हुन सकेको छैन ।

क्रेमलिनका अनुसार प्राविधिक तहमा हुने नयाँ त्रिपक्षीय शान्तिवार्ता संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा हुन सक्नेछ । आगामी नोभेम्बर १० वा त्यसपछि वार्ता सुरु हुन सक्ने जनाइएको छ ।

युद्ध अन्त्य भएपछि रुस र युक्रेनको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषय वार्ताको मुख्य केन्द्रमा रहने क्रेमलिनले जनाएको छ । यसअघि अमेरिकाको मध्यस्थतामा भएको शान्तिवार्ता गत फेब्रुअरीमा सम्पन्न भएको थियो । त्यसपछि अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेका थिए ।

यद्यपि, विटकफले अघिल्लो दिन नर्वेको राजधानी ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फिनल्यान्ड र नर्वेका नेताहरू तथा युरोपेली र नेटोका प्रतिनिधिहरूसँग गरेको छलफलको नतिजाप्रति क्रेमलिन त्यति उत्साहित देखिएको छैन ।
विटकफले पुटिनसँगको भेटमा ओस्लो वार्तामा केही सकारात्मक गति देखिएको बताएका थिए । एक अमेरिकी अधिकारीले पनि युक्रेनले नयाँ विचार र प्रस्ताव प्रस्तुत गरेको जानकारी दिएका थिए ।

तर, सेन्ट पिटर्सबर्गमा करिब तीन घण्टा चलेको भेटवार्तापछि पुटिनका सहयोगी युरी उशाकोभले पत्रकारहरूसँग भने, ‘यी सूक्ष्म पक्षहरूले हामीलाई पूर्ण रूपमा सन्तुष्ट बनाएका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij