२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

चौधौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतलाई

चौधौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतलाई

सुर्खेत । कर्णाली प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ्गशिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही फागुन ७ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सुर्खेत जिल्लाले ४५ स्वर्ण सहित उपाधि जितेको हो ।

जम्मा ६ खेल समावेश गरिएको उक्त प्रतियोगितामा ४५ स्वर्ण १४ रजत ७ कांस्य सहित १४ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि सुर्खेतले हात पारेको छ । छात्र तर्फ २० स्वर्ण ५ रजत ४ कांस्य जित्यो भने छात्रातर्फ २५ स्वर्ण ९ रजत ३ कांस्य जित्यो ।

यस्तै पश्चिम रुकुमले जम्मा ५ स्वर्ण १३ रजत १७ कांस्य सहित द्धितिय भयो भने सल्यानले ५ स्वर्ण, १२ रजत,१८ कांस्य सहित तृतीय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का प्रशिक्षण विभाग प्रमुख प्रदीप राईले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भएका कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगल बहादुर शाहीले खेलाडीहरूले नै कर्णालीलाई चिनाएको बताएका छन् ।

खेल क्षेत्रको विकासको लागि सबैले लाग्नु पर्ने भन्दै मन्त्री शाहीले सम्पूर्ण खेलाडीहरूलाई अनुशासित भएर खेल्न आग्रह गरे । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गएकोले कर्णालीका खेलाडीहरूले त्यसको पूर्व तयारीमा लाग्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले विजयी हुने खेलाडीहरूलाई बधाई दिँदै केन्द्रीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको लागि छनौट भएका खेलाडीहरूलाई मेहनतका साथ आफ्नो तयारीलाई अगाडी बढाउन निर्देशन दिए ।

सदस्य सचिव संज्यालले पछिल्लो समय खेल क्षेत्रमा कर्णालीले पाएको सफलताले अबको एक दशकमा कर्णालीका खेलाडीहरूले राष्ट्रिय स्तरमा आफ्नो वर्चश्व कायम राख्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij