२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

रुसमा हुने मानव तस्करी रोक्न एनआरएनएद्वारा श्रममन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानव तस्करी रोक्न एनआरएनएद्वारा श्रममन्त्री भण्डारीको ध्यानार्कषण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र त्यसक्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो ।
संघले बिगतदेखि रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उनीहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको छ ।

संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सूचना मस्कोस्थित नेपाली दुतावासलाई दिइ मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ ।

नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कमीले गर्दा विगत लामो समयदेखि रसियामा स्थायी रुपमा बसोबास गर्ने, अध्ययन तथा व्यवसाय गर्ने नेपालीहरुको ठूलो संख्या अप्ठ्यारोमा परेको जनाएको छ । यसरी बसोबास गर्दै आएका नेपालीहरू छुट्टिमा नेपाल आउँदा अध्यागमनबाट रुस जाने नेपालीहरुलाई रोक्ने, श्रम स्वीकृति नगर्ने जस्ता घटनाहरु भइरहेकोप्रति समेत संघले ध्यानाकर्षण गराएको छ ।

भेटमा मन्त्री भण्डारीले एनआरएनएका प्रतिनिधिसँग नयाँ गन्तव्य र श्रम बजारको सम्भावनाका विषयमा चासो राख्दै गैरआवासीय नेपालीहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भेटमा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङलगायतका पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij