२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट आफ्ना उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला (अन्य), मधेस प्रदेशमा आनन्दप्रसाद ढुङ्गाना (अन्य), बागमती प्रदेशमा जीतजङ्ग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकी प्रदेशमा किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपाङ्गता/अल्पसङ्ख्यक)लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसैगरी लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा (महिला), कर्णाली प्रदेशमा कृष्णबहादुर रोकाया (अन्य), सुदूरपश्चिम प्रदेशमा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता÷अल्पसङ्ख्यक)लाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार माघ ११ गते हुने कूल १९ पदमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १० पदमा उम्मेदवार दिएको हो । कांग्रेसले सत्तारुढ गठबन्धनको ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमतिबमोजिमका उम्मेदवारलाई विजयी गराउन सबैमा आह्वान गरेको छ ।

निर्वाचन आयोग नेपालले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij