काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा सदस्यको चयन संविधानले गरेको परिकल्पनाअनुसार हुनुपर्ने बताएका छन् । बुधबार पूर्व कर्मचारी समाज नेपालद्वारा आयोजित कार्यक्रममा महामन्त्री थापाले संविधानको परिकल्पनाभन्दा भिन्नै रहेर सदस्यको चयन भए मुलुकमा सरकार र व्यवस्थाप्रति निराशा अझ बढ्ने बताएका हुन् ।
उनले संविधानले परिकल्पना गरेको भन्दा बाहिरको व्यक्ति लैजाने छुट कुनै पनि दललाई नभएको बताए । उनले भने, ‘हाम्रो पार्टीको विधानअनुसार उम्मेदवार प्रदेशले सिफारिस गर्नुपर्छ, म नजिकबाट नियालिरहेको छु । राष्ट्रिय सभाभित्र संविधानले ख्याति प्राप्त विभिन्न पेसा, क्षेत्रमा रहेर अनुभव गरेको मानिसहरु त्यो सभाभित्र पुगोस् भन्ने परिकल्पना गरेको छ । अहिले त्यो बहसमा पनि नआउने अवस्था बनेको छ । दलहरुबीच छलफल हुँदैगर्दा, त्यसको एउटा कारण भनेको दलभित्रको निर्णय गर्ने जुन थलो छ, त्यो थलोमै उचित प्रतिनिधित्व नहुँदा आफैं हराउँदैछ । पार्टीको वैधानिक संरचनामै यो देखिन्छ ।’
उनले दलहरुले संविधानको परिकल्पनाभन्दा बेग्लै मनपरी ढंगले सिफारिसमा जोडबल गर्न नहुने बताए । पार्टीको विधिअनुसार सदस्यको उम्मेदवार सिफारिस हुनुपर्नेमा उनले जोड दिए । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि आगामी माघ ११ मा निर्वाचन हुँदैछ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij