२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

सरकारको कामसँग कांग्रेस सन्तुष्ट छ, तलाउमा ढुंगा हानेर तरंग ल्याउने कुनै इच्छा छैनः अध्यक्ष ओली

सरकारको कामसँग कांग्रेस सन्तुष्ट छ, तलाउमा ढुंगा हानेर तरंग ल्याउने कुनै इच्छा छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारीमा युवाहरूको प्रदर्शनमा गएर भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुललाई उत्तेजित पारेको आरोप लगाएका छन् ।

सोमबार नेपाली कांग्रेसको राष्ट्रिय एकता र मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मन्त्री ज्वालाले प्रदर्शनमा आगोमाथि घीउ थप्ने काम गरेको बताएका हुन् ।

उनले भने, ‘हुलमा गएर उत्तेजित पारेर गोली चलाएर मान्छे मारेको छ । गोली मात्रै चलाएको होइन। बन्दुकको कुन्दाले यसरी हानेको छ कि मान्छे ठाउँको ठाउँ मरेको छ । नगइ नहुने के आइलाग्यो ? प्रश्नहरू उब्जिएका छन्।’ अध्यक्ष ओलीले कांग्रेसले मेलमिलाप दिवसको महत्व र सान्दर्भिकतालाई समयअनुसार रुपान्तरण गर्नुपर्ने बताए ।

ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘सेरिमोनियल राजा’ को संज्ञा दिए । उनले भने, ‘कस्तो राजा ल्याउन खोजेको ? यी राजनीतिक दलहरुले गरेनन् भनेर तानाशाह राजा बनाउन खोजेको भनेर सोध्दा होइन भन्छन् । संवैधानिक सेरिमोनियल राजा बनाउन खोजेको रे । सेरिमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त ।’

उनले नेपालमा राजतन्त्र असाधारण विषय भएको उल्लेख गर्दै कुनै पनि तानाशाहीतन्त्र ल्याउनै नदिने हो भने लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको पक्षमा सबै एक भएर उभिने बताए । उनले अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग गठबन्धनकै ठूलो दल कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष पनि गरे ।

उनले भने, ‘अहिलको परिस्थिति, अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा मैले एउटा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउने मेरो कुनै इच्छा छैन । अमन चयनमा खलल पार्न पनि चाहन्नँ । त्यस सीमाभित्र मात्रै म रहन्छु ।’

पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले आज कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij