२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

२०८३ मंसिर ८ सोमबार

३४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै

३४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन साह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री आइतबारदेखि सोमबारसम्म भारत भ्रमणमा रहने औपचारिकरुपमा जानकारी गराएको हो ।

प्रधानमन्त्रीसँग भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् । परराष्ट्र सचिव अमृतबहादुर राईले सरकारी भ्रमण दल ३४ सदस्यीय हुने र नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट राजदूतसहित केही अधिकारीहरू थपिने जानकारी दिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले साहको सम्मानमा औपचारिक दिवाभोज आयोजना गर्नेछन्। भारतका विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री साहसँग भेट गर्नेछन् ।

नेपाल र भारतबीचको साझा सभ्यतागत सम्बन्ध, सांस्कृतिक निकटता तथा जनस्तरको गहिरो सम्बन्धलाई आधार बनाउँदै भ्रमणका क्रममा दुई देशबीचको व्यापक सहकार्यलाई भविष्यदृष्टिसहित समीक्षा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणले दुवै देशका जनताको पारस्परिक हितका लागि सहयोगका क्षेत्र विस्तार गर्ने अवसर प्रदान गर्ने मन्त्रालयको विश्वास छ । प्रधानमन्त्री साह मंसिर ७ गते काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij