बीबीसी । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । मानवीय सहायता वितरणका लागि प्रयोग हुँदै आएको केन्द्रमा रुसी बम खस्दा उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार जापोरिजिया क्षेत्रको कोमिशुभाखा गाउँमा कम्तीमा नौवटा तीन हजार किलोका हवाई बम प्रहार गरिएको थियो । आक्रमणमा पाँच जना घाइते भएका छन् भने सुरुमा २७ जना बेपत्ता भएको जानकारी दिइएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्थानीय विद्यालयमा पहिलो आक्रमण भएको र त्यसपछि मानिसहरू आश्रय लिएर बसेको स्थानमा दोस्रो आक्रमण गरिएको बताएका छन् । उक्त विद्यालयलाई मानवीय सहायता वितरणका लागि प्रयोग गरिँदै आएको थियो ।
सोमबार भएको आक्रमणपछि ठूलो खाल्डो बनेको र उद्धारकर्मीहरूले भग्नावशेषमा खोजी गरिरहेको भिडियोसमेत जेलेन्स्कीले सार्वजनिक गरेका छन् ।
सुरुमा जेलेन्स्कीले मृतकको संख्या १८ रहेको बताएका थिए । त्यसपछि युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस) ले दुई उद्धारकर्मी र चार प्रहरी अधिकारीसहित २४ जनाको मृत्यु पुष्टि गरेको थियो । सोमबार राति भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले मृतकको संख्या २६ पुगेको जानकारी दिएका हुन् ।
जेलेन्स्कीले कोमिशुभाखामा रहेका स्थानीय बासिन्दाले हरेक साता त्यही स्थानबाट मानवीय सहायता प्राप्त गर्ने गरेको रुसी पक्षलाई जानकारी हुँदाहुँदै आक्रमण गरिएको आरोप लगाएका छन् । यस आक्रमणबारे रुसी सेनाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij