२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

२०८३ कार्तिक २३ आइतबार

कांग्रेस महाधिवेशनः नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ता

कांग्रेस महाधिवेशनः नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुँदैछ । सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन मंगलबारको बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्नेछ ।

मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम सोमबार नै सम्पन्न भएको थियो । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । त्यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने छ । त्यसपछि असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।

मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाइने भएको छ । खुलामञ्चमा नै भ्रातृ एवम् शुभेच्छुक संस्था र नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij