काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आर्थिक रूपान्तरण, युवा नेतृत्व र समृद्धिको एजेन्डालाई कांग्रेसको राजनीतिको केन्द्रमा राख्ने प्रतिबद्धतासहित चौधरीले उम्मेदवारी घोषणा गरेका हुन्।
चौधरीले सोमबार सार्वजनिक गरेको घोषणामा देशले अहिले युवा नेतृत्व खोजिरहेको भन्दै कांग्रेसले नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताएका छन्। आर्थिक समुन्नतिको स्पष्ट दृष्टिकोण भएका नेतृत्वलाई पार्टीको नेतृत्व तहमा पुर्याएर आर्थिक रूपान्तरणको नयाँ अध्याय सुरु गर्नुपर्ने उनको जोड छ।
चौधरीले आफ्नो उम्मेदवारीलाई कुनै व्यक्ति वा समूहविरुद्धको अभियानका रूपमा नभई कांग्रेसलाई नयाँ पुस्तासँग जोड्ने, आर्थिक विकासलाई राजनीतिको केन्द्रमा स्थापित गर्ने र परिणाममुखी नेतृत्व निर्माण गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
उनले कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा आफ्नो सहभागिता कसैप्रतिको वैरभावका कारण नभएको स्पष्ट पार्दै त्यसलाई Gen Z आन्दोलनले दिएको सन्देश, परिवर्तनको जनआकांक्षा र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको प्रतिबद्धतासँग जोडेका छन्।
आर्थिक विषयमा आफ्नो लामो अनुभवलाई राजनीतिक नेतृत्वसँग जोडेर अघि बढाउने चौधरीको मुख्य जोड देखिन्छ। उनले कांग्रेस नेतृत्वमा २०४८ देखि २०५१ सालसम्म अघि बढाइएको आर्थिक सुधारलाई नेपालको अर्थतन्त्रका लागि ऐतिहासिक र दूरगामी महत्वको भन्दै त्यसलाई समयअनुकूल रूपमा थप गहिरो र प्रभावकारी बनाउन नसक्दा देशले आर्थिक विकासमा अपेक्षित गति लिन नसकेको बताएका छन्।
निजी क्षेत्रको नेतृत्वमा रहँदा आर्थिक उदारीकरण र निजी क्षेत्र विस्तारका पक्षमा आफूले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै चौधरीले अब राजनीतिक नेतृत्व, आर्थिक विज्ञ र नीति निर्माताबीच संस्थागत तथा निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन्।
व्यवसायिक क्षेत्रबाट राष्ट्रिय राजनीतिमा आएका चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुअघि पनि आर्थिक नीति र राजनीतिक वृत्तमा सक्रिय थिए। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष हुन्।
चौधरीले २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्यका रूपमा राजनीतिक यात्रा अघि बढाएका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गरेका उनी कांग्रेसबाट समानुपातिक सांसद बने। २०७८ मा कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।
व्यवसायिक क्षेत्रमा चौधरीको पहिचान चौधरी ग्रुपका अध्यक्ष तथा प्रमुख उद्योगीका रूपमा स्थापित छ। आर्थिक तथा सामाजिक क्षेत्रमा उनको सक्रियता र चौधरी फाउन्डेसनमार्फत गरिएका कामले पनि उनलाई सार्वजनिक जीवनमा परिचित बनाएको छ।
पछिल्लो राजनीतिक यात्रामा भने चौधरीले कांग्रेसभित्र आर्थिक नीति र विकासको एजेन्डालाई प्राथमिकतामा राख्दै आएका छन्। २०८२ को प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी–१ बाट उनी पराजित भएका थिए। त्यसपछि पनि उनी कांग्रेसको संगठनात्मक राजनीतिमा सक्रिय रहँदै आएका छन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका चौधरी यसपटक नवलपरासी–१ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
चौधरीले आफ्नो उम्मेदवारीमार्फत युवाको ऊर्जा, नयाँ पुस्ताको आकांक्षा र अनुभवी नेतृत्वको ज्ञानलाई जोडेर उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित र प्रतिस्पर्धी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य अघि सारेका छन्।
उनले ‘राजनीतिका लागि राजनीति’ मात्रै गरेर देशमा रूपान्तरण सम्भव नहुने भन्दै आर्थिक समुन्नतिको स्पष्ट योजनासहित काम गर्नुपर्ने बताएका छन्। उपसभापतिको जिम्मेवारी पाए आर्थिक समुन्नतिको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने उनको दाबी छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सक्रिय रूपमा सहभागी हुनुभएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूमा हार्दिक शुभकामना एवं जय नेपालको अभिवादन !
देशले अहिले युवा नेतृत्वको खोजी गरिररहेको छ । यस महाधिवेशनबाट नेपाली कांग्रेसले युवाहरुलाई नेतृत्वमा स्थापित गर्नुपर्छ । साथै, आर्थिक समुन्नतीको स्पष्ट भिजन भएका नेताहरुलाई नेतृत्व तहमा पुर्याइ आर्थिक रुपान्तरणमा नयाँ अध्याय शुरू गर्नुपर्नेछ । यस्तो नेतृत्वबाट आगामी दिनमा देशको आर्थिक रुपान्तरण गर्न सम्भव हुनेछ भन्ने मलाई विश्वास छ ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मेरो सहभागिता कसैसँगको वैरभावका कारण थिएन। Gen Z आन्दोलनले दिएको युगान्तकारी सन्देशप्रतिको सम्मान, परिवर्तनको जनआकांक्षाप्रतिको ऐक्यबद्धता र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट प्रतिबद्धताका साथ म विशेष महाधिवेशनमा सहभागी भएको थिएँ।
पार्टीमा युवा नेतृत्वलाई स्थापित गर्दै जनअपेक्षाअनुसारको नेपाली कांग्रेस निर्माण गर्नुपर्छ भन्ने सोचका साथ मैले विशेष महाधिवेशनलाई सफल बनाउन आफूलाई पूर्ण रूपमा समर्पित गरेको थिएँ।
नेपाललाई अब आर्थिक रूपान्तरणमा थप ढिलाइ गर्नु हुँदैन। हामीले राजनीतिक परिवर्तनका अनेक चरण पार गरिसकेका छौँ, तर आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुरूप हुन सकेको छैन। यही यथार्थलाई आत्मसात् गर्दै म नेपाली कांग्रेसका सभापति गगन थापासँग आर्थिक रूपान्तरण र विकासका एजेन्डामा निरन्तर सहकार्य गर्दै आएको छु।
नेपाली कांग्रेसको नेतृत्वमा २०४८ देखि २०५१ सालसम्म अघि बढाइएको आर्थिक सुधार नेपालको अर्थतन्त्रका लागि ऐतिहासिक र दूरगामी महत्त्वको थियो। उदारीकरण, निजी क्षेत्रको विस्तार र आर्थिक सुधारमार्फत अघि बढाइएको त्यस यात्राले नेपालको अर्थतन्त्रमा नयाँ सम्भावनाका ढोका खोल्यो। त्यतिबेला सरकारकातर्फबाट महेश आचार्य र डा. रामशरण महतले आर्थिक सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षका हैसियतले मैले निजी क्षेत्रबाट आर्थिक उदारीकरणलाई सस्थागत गर्न गहन भूमिका निर्वाह गरेको थिएँ । तर समयसँगै ती सुधारलाई थप गहिरो, व्यापक र प्रभावकारी बनाउँदै अर्को चरणमा लैजान नसक्दा नेपालले आर्थिक विकासको दौडमा अपेक्षित गति लिन सकेन।
वीपी कोइरालाको दूरगामी राजनीतिक सोंच र सुवर्ण शमसेर जबराले हालेको आर्थिक विकासको जगलाई समृद्ध बनाउनु अहिलेको आवस्यकता हो । यसका लागि उहाहरुको सपनालाई साकार तुल्याउन म हरसम्भव कोसिश गर्नेछु ।
विगतका उपलब्धि र सीमाबाट पाठ सिक्दै नयाँ सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी आर्थिक नीतिका साथ अघि बढ्नुपर्छ। मेरो दृढ मान्यता छ—देशको विकासका लागि राजनीतिक नेतृत्वको दूरदृष्टि र त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सक्ने आर्थिक विज्ञ तथा नीति–निर्माताबीच बलियो, संस्थागत र निरन्तर सहकार्य अपरिहार्य छ। राजनीति र अर्थतन्त्रलाई अलग–अलग क्षेत्रका रूपमा होइन, एउटै राष्ट्रिय विकास यात्राका परिपूरकका रूपमा बुझ्नुपर्छ।
हामीलाई अब केवल आकर्षक नारा होइन, नयाँ आर्थिक सोच, स्पष्ट नीति, सक्षम कार्यान्वयन, जवाफदेही शासन र परिणाम दिने नेतृत्व चाहिएको छ। युवाको ऊर्जा, नयाँ पुस्ताको आकांक्षा र अनुभवी नेतृत्वको ज्ञानलाई एकीकृत गर्दै नेपाललाई उत्पादनमुखी, रोजगारी सिर्जना गर्ने, नवप्रवर्तनमा आधारित र प्रतिस्पर्धी अर्थतन्त्रमा रूपान्तरण गर्ने समय यही हो।
यही सोच, यही विश्वास र यसलाई व्यवहारमा कार्यान्वयन गर्ने दृढ प्रतिबद्धताका साथ मैले नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिएको छु।
यो उम्मेदवारी केवल एउटा पदका लागि होइन—
आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्याउन, युवाहरूका आकांक्षालाई सम्बोधन गर्न, आर्थिक रूपान्तरणमार्फत देशको विकासको नेतृत्व नेपाली कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वासलाई व्यवहारमा पुष्टि गर्न तथा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्दै अझ सशक्त, आधुनिक र जनमुखी बनाउने संकल्पका लागि हो।अब ‘राजनीतिका लागि राजनीति’ गरेर देशमा रुपान्तरण गर्न सकिदैँन । यसका लागि आर्थिक समुन्नतीका स्पष्ट योजनामा काम गर्नु आवस्यक छ । आर्थिक समुन्नतीको जिम्मेवारी सम्हाल्न म तयार छु ।
यस अभियानमा यहाँहरूको अमूल्य साथ, सहयोग, सुझाव र मतका लागि हार्दिक अनुरोध गर्दछु। यहाँहरूको विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै आर्थिक रूपान्तरण, सुशासन र नयाँ पुस्ताको आकांक्षालाई केन्द्रमा राखेर नेपाली कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउन इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
जय नेपाल !
© 2026 All right reserved to samajpress.com | Site By : Sobij