काठमाडौं । जय नेपाल फाउन्डेशनको आयोजनामा लेखक बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ दुई पुस्तकको संयुक्त विमोचन गरिएको छ। राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा आयोजित कार्यक्रममा राजनीति, साहित्य, पत्रकारिता, कानुन, खेलकुद तथा युवा क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लेखक बद्री अर्यालसँगको लामो मित्रता र राजनीतिक सहयात्राको चर्चा गरे। उनले पुस्तक लेखन तथा प्रकाशनप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कामलाई निरन्तरता दिन शुभकामना दिए।
‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ माथि समीक्षा गर्दै नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पुस्तकले समृद्ध नेपाल निर्माणका लागि आवश्यक आर्थिक सोच र दृष्टिकोण निर्माणमा योगदान दिन सक्ने बताए। देशको आर्थिक समृद्धिका लागि आवश्यक विषयमा पुस्तकले विभिन्न आधार प्रस्तुत गरेको उल्लेख गर्दै उनले विशेषगरी राजनीतिकर्मीहरूका लागि आफ्नो आर्थिक दृष्टिकोण निर्माण गर्न पुस्तक उपयोगी हुन सक्ने धारणा राखे।
त्यस्तै, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ माथि समीक्षा गरे। उनले राजनीतिक यात्रामा आउन चाहने नयाँ पुस्ताका लागि पुस्तक उपयोगी रहेको बताए। राजनीतिक दलभित्र नेतृत्वको भूमिका, कार्यकर्ताको जिम्मेवारी, दलको वैधानिकता, राजनीतिक आचरण, इमानदारिता र राजनीतिक दृष्टिकोण निर्माणजस्ता विषयलाई पुस्तकले उठाएको उनको भनाइ थियो।
दाहालका अनुसार राजनीति, त्यसको उद्देश्य र दलभित्रको जिम्मेवारी बुझ्न चाहनेहरूका लागि पुस्तक अध्ययनयोग्य छ।
वरिष्ठ साहित्यकार नवराज लम्सालले दुवै पुस्तकको समीक्षा गर्दै लेखकको लेखन शैली र पुस्तकको प्रस्तुति पक्षको प्रशंसा गरे। उनले दुवै पुस्तकलाई सिर्जनात्मक र फरक किसिमको लेखनका रूपमा चर्चा गर्दै समृद्धि, राजनीति र अर्थतन्त्रका विषयमा चासो राख्ने पाठकका लागि पुस्तक उपयोगी हुने बताए।
कार्यक्रममा ३० वर्षमुनिकी अधिवक्ता तथा स्वर्ण पदक विजेता राष्ट्रिय खेलाडी करिना पुरीले नयाँ पुस्तालाई यस्ता पुस्तक पढ्नुपर्ने आवश्यकता औँल्याइन्। मुलुक निर्माणका विषयमा युवा पुस्ताले आफ्नो धारणा र दृष्टिकोण बनाउन अध्ययन आवश्यक रहेको भन्दै उनले पुस्तकका विषयवस्तुको प्रशंसा गरिन्। उनका अनुसार यस्ता पुस्तकले युवालाई राष्ट्र निर्माण र आफ्नो जिम्मेवारीबारे सोच्न प्रेरित गर्न सक्छन्।
समृद्धिको बहसलाई आर्थिक र राजनीतिक दृष्टिकोणसँग जोड्ने प्रयास
कार्यक्रममा वक्ताहरूले नेपालको समृद्धिको बहसलाई राजनीतिक नारामा मात्र सीमित नगरी आर्थिक दृष्टिकोण, राजनीतिक संस्कार, नेतृत्वको जिम्मेवारी, सुशासन, उत्पादन, उद्यमशीलता र नागरिक दायित्वसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए।
बद्री अर्यालका दुवै पुस्तकले नेपालको समृद्धिका लागि आवश्यक आर्थिक र राजनीतिक पक्षलाई फरक कोणबाट प्रस्तुत गरेका छन्।
‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ मा उत्पादन, उद्यमशीलता, आर्थिक राष्ट्रवाद, आत्मनिर्भरता, रोजगारी र आर्थिक रूपान्तरणजस्ता विषयलाई केन्द्रमा राखिएको छ। त्यस्तै ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ मा राजनीतिक नेतृत्व, राजनीतिक दलको भूमिका, लोकतान्त्रिक संस्कार, राजनीतिक आचरण, सुशासन तथा राष्ट्र निर्माणमा राजनीतिक शक्तिको जिम्मेवारीबारे चर्चा गरिएको छ।
यस अर्थमा दुवै पुस्तकले नेपालको आर्थिक तथा राजनीतिक रूपान्तरणबारे सार्वजनिक बहसलाई थप विस्तार गर्ने प्रयास गरेका छन्।
कार्यक्रमको अध्यक्षता पुस्तकका प्रकाशक हरि पराजुलीले गरेका थिए। जय नेपाल फाउन्डेशनका संस्थापक सदस्य तथा अधिवक्ता प्रकाश रावलले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमको अन्त्यमा लेखक बद्री अर्यालले पुस्तकको समीक्षा गर्ने वक्ताहरू, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरे।
विमोचन कार्यक्रममा राजनीतिकर्मी, साहित्यकार, पत्रकार, कानुन व्यवसायी, खेलाडी, युवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij