काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र जोखिमपूर्ण क्षेत्रमा नबस्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को अवस्थामा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई आग्रह गरे ।
‘रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न म पार्टीका सम्पूर्ण नेता, सदस्य तथा शुभेच्छुकहरूमा आग्रह गर्दछु,’ उनले भने, ‘बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गर्दछु ।’
विपद्सम्बन्धी सूचना प्रवाह गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन उनले आग्रह गरे ।
उनले भने, ‘पार्टीका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण साथीहरूलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दछु ।’
रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय सहभागी हुन लामिछानेले निर्देशन दिए ।
उनले बाढीबाट प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्नसमेत आग्रह गरे ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij