एजेन्सी । २६ दिनदेखि आमरण अनशनमा रहेका जलवायु तथा सामाजिक अभियन्ता सोनम वांग्चुकले अन्ततः आफ्नो अनशन तोडेका छन् । गत जुन २८ देखि भोक हड्तालमा रहेका वांग्चुकले गुडगाउँस्थित मेदान्ता अस्पतालमा सरकारको तर्फबाट औपचारिक आश्वासन पाएपछि अनशन तोडेका हुन् ।
जंतरमन्तरमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूविरुद्ध कुनै पनि कानुनी कारबाही नगरिने र प्रश्नपत्र चुहावट (पेपर लीक) को जवाफदेहिताका विषयमा गम्भीरतापूर्वक छलफल गरिने सरकारको आश्वासनपछि उनले आफ्नो अनसन तोडेका हुन् । अनशन तोड्ने क्रममा केन्द्रीय मन्त्रीद्वय जेपी नड्डा र जितेन्द्र सिंह, लेह–लद्दाखको एपिक्स बडीका वरिष्ठ नेताहरू, चिकित्सकहरू तथा वांग्चुकका परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। सार्वजनिक भएका दृष्यहरूमा मन्त्रीहरूले वांग्चुकलाई कपबाट पानी पिलाएर अनशन तोडाएका थिए।
अनशन समापनपछि प्रतिक्रिया दिँदै अभियन्ता वांग्चुकले आफू खुसी र कृतज्ञ रहेको बताए। यो भोकको अन्त्य मात्रै नभई जवाफदेहिताको नयाँ सुरुवात भएको उनको भनाइ छ। सो अवसरमा उनले कठिन परिस्थितिमा सधैँ साथ दिएकी आफ्नी पत्नी गीताञ्जलीप्रति पनि विशेष कृतज्ञता व्यक्त गरे। कार्यक्रममा मन्त्री नड्डाले सरकारको तर्फबाट दिइएका आश्वासनहरूको पत्र वाचन गरेर सुनाएका थिए।
वाङचुकले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यसअघि विभिन्न राजनीतिक दलका ६५ सांसदहरूले पत्र लेखेर मलाई अनशन तोड्न आग्रह गर्नुभएको थियो।” उनले यो निर्णय विभिन्न सर्तहरूमा गरिएको लामो छलफल र देशमा हुन सक्ने सम्भावित हिंसाको आशंकालाई ध्यानमा राखेर लिइएको बताएका छन्।
उनले यी सर्तहरूबारे चाँडै नै एउटा छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिने स्पष्ट पारेका छन्। यसैबीच, उनले आफ्ना समर्थक र जनतालाई कतै पनि कुनै प्रकारको हिंसा हुन नदिन र सतर्क रहन विशेष अपील गरेका छन्।
नीट-यूजी (NEET-UG) परीक्षाको प्रश्नपत्र लीक भएको विरोधमा विद्यार्थीहरू विगत एक महिनादेखि दिल्लीको जन्तर-मन्तरमा प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन्। विद्यार्थीहरूको यही माग र आन्दोलनलाई ऐक्यबद्धता जनाउन उनी अनशनमा बसेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij