२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अमेरिकाको टेक्सासमा नेपाली मूलका मिलन महर्जनको सवारी दुर्घटनामा दुःखद निधन

अमेरिकाको टेक्सासमा नेपाली मूलका मिलन महर्जनको सवारी दुर्घटनामा दुःखद निधन

अस्टिन टेक्सास,
टेम्पल टेक्सास को टेम्पल शहरमा भएको एक दुःखद सवारी दुर्घटनामा नेपाली मूलका ३७ वर्षीय मिलन महर्जन को निधन भएको छ। टेम्पल प्रहरी विभागले दुर्घटनापछि मृतकको पहिचान सार्वजनिक गर्दै महर्जनको घटनास्थलमै मृत्यु भएको जनाएको छ।

प्रहरीका अनुसार जुन १४ को बिहान टेम्पलस्थित वेस्ट एडम्स एभिन्यू (West Adams Avenue) र नर्थवेस्ट एच.के. डजेन लुप (NW H.K. Dodgen Loop) नजिक महर्जनले चलाइरहेको सवारीसाधन अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किएको थियो। ठक्कर लगत्तै गाडीमा आगलागी भएको र महर्जनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

टेम्पल प्रहरी विभागका अनुसार दुर्घटनामा अन्य कुनै सवारीसाधन संलग्न थिएन। प्रारम्भिक अनुसन्धानले यो एकल सवारी दुर्घटना भएको देखाएको छ भने घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

मिलन महर्जन टेम्पल क्षेत्रमा बसोबास गर्दै आएका नेपाली मूलका व्यक्ति भएको खुलेको छ। उनको असामयिक निधनको खबर सार्वजनिक भएपछि टेक्साससहित अमेरिकाभर रहेका नेपाली समुदायमा शोक छाएको छ। सामाजिक सञ्जालमार्फत धेरैले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिरहेका छन्।

महर्जन आईटी क्षेत्रमा कार्यरत थिए। उनी विगत करिब डेढ वर्षदेखि आफ्नी श्रीमतीसँग आफ्नै घरमा बसोबास गर्दै आएका थिए। प्राप्त जानकारीअनुसार दुर्घटना भएको दिन उनी कामको सिलसिलामा गन्तव्यतर्फ जाँदै गर्दा बाटोमै उक्त दुर्घटनामा परेका थिए। उनको असामयिक निधनपछि परिवार गहिरो शोकमा परेको छ भने नेपालमा रहेका आमाबुबा तथा आफन्तजनसमेत ठूलो पीडामा रहेका छन्।

यस कठिन परिस्थितिमा परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले Nepali Society of Central Texas (NSCT) ले “In Loving Memory of Milan Maharjan – Help Support His Beloved Wife Alina” शीर्षकमा GoFundMe मार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ।
NSCT का महासचिव डा. मुनिश शर्मा तथा संस्थाकी महिला संयोजक रेश्मी कटुवाल सत्यालका अनुसार महर्जनको असामयिक निधनपछि परिवारमाथि अन्त्येष्टि खर्च, घरको किस्ता तथा दैनिक जीवनयापनसँग सम्बन्धित आर्थिक भार बढेकाले उक्त अभियान सुरु गरिएको हो।

अभियानमार्फत ३० हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखिएको छ। समाचार तयार पार्दासम्म २६ जना सहयोगकर्ताबाट ४,४५५ डलर संकलन भइसकेको जानकारी प्राप्त भएको छ।

डा. मुनिश शर्माका अनुसार पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि नेपाली परम्परा, संस्कार र रीतिरिवाजअनुसार महर्जनको अन्त्येष्टि गरिनेछ। साथै नेपालमा रहेका आमाबुबा, परिवारजन तथा आफन्तहरूसँग निरन्तर समन्वय र संवाद भइरहेको जानकारी पनि उनले दिएका छन्।

विदेशी भूमिमा नेपाली समुदायका एक सदस्यको यसरी दुःखद निधन हुनु अत्यन्त पीडादायी घटना भएको भन्दै समुदायका सदस्यहरूले सुरक्षित सवारी सञ्चालन र सडक सुरक्षाप्रति थप सचेत हुनुपर्ने आवश्यकता रहेको NSCT का महासचिव डा. मुनिश शर्माले बताएका छन्। साथै, दुःखको यस घडीमा शोकसन्तप्त परिवारको साथमा उभिएर सक्दो सहयोग गर्न सम्पूर्ण समुदायसँग उनले अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij