२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

हिमाली छुर्पीबाट कान्स रेड कार्पेटसम्म: ‘डग्सी च्यू’ मार्फत नेपाली उद्यमशीलताको विश्व यात्रा

हिमाली छुर्पीबाट कान्स रेड कार्पेटसम्म: ‘डग्सी च्यू’ मार्फत नेपाली उद्यमशीलताको विश्व यात्रा

सामाना देवकोटा- अस्टिन, टेक्सास 

विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभल को रेड कार्पेटमा यसपटक नेपाली उद्यमशीलताको झल्को देखिएको छ। मोरङको उर्लाबारीबाट सुरु भएको एउटा साधारण सोच आज अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्दा नेपाली दम्पत्ती भूपेन्द्र खनाल र स्नेहा शर्मा खनाल चर्चा र प्रेरणाको केन्द्र बनेका छन्।

खनाल दम्पत्तीले स्थापना गरेको ‘डग्सी च्यू’ ब्रान्डले हिमाली क्षेत्रको परम्परागत छुर्पीलाई कुकुरका लागि पौष्टिक ‘हिमालयन याक च्यू’ को रूपमा विश्व बजारमा स्थापित गरेको छ। स्थानीय उत्पादनलाई आधुनिक सोच, अनुसन्धान र व्यावसायिक दृष्टिकोणसँग जोड्दै उनीहरूले नेपाली मौलिकता र हिमाली स्वादलाई विश्वभर चिनाउने काम गरेका छन्।

सन् २०१५ मा सुरु भएको यो ब्रान्ड अहिले विश्वका धेरै देशहरूमा विस्तार भइसकेको छ। घरपालुवा जनावरको स्वास्थ्य, पोषण र प्राकृतिक खाद्य पदार्थप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै ‘डग्सी च्यू’ ले आफूलाई विश्व बजारमा प्रभावशाली ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ।

हालै कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा उनीहरूको उपस्थितिले केवल फेसन र ग्ल्यामर मात्र होइन, घरपालुवा जनावरप्रतिको प्रेम, हेरचाह र जिम्मेवारी को गहिरो सन्देश पनि दिएको छ। आफ्ना प्रिय कुकुर ‘मोगली’ को सम्झनामा उनीहरूले विशेष पहिरनमार्फत प्रेम, वफादारी, आत्मीयता र समर्पणको भाव प्रस्तुत गरेका थिए।

भूपेन्द्र खनालले आफ्नो पहिरनमा नेपाली मौलिकता, भारतीय शैली र पेरिसियन डिजाइनको संयोजन रहेको बताएका छन्। उनका अनुसार यो केवल पोशाक नभई आफ्नो पहिचान, संघर्ष, संस्कृति र यहाँसम्म आइपुगेको यात्राको प्रतीकात्मक अभिव्यक्ति हो।

एक समय सामाजिक सञ्जाल विश्लेषणको क्षेत्रमा सक्रिय रहेका खनालले व्यवसायिक सोचलाई नयाँ दिशातर्फ मोड्दै हिमाली उत्पादनलाई विश्वव्यापी ब्रान्ड बनाउने साहसिक कदम चाले। सह–संस्थापक स्नेहा शर्मा खनालले पनि घरपालुवा जनावरको स्वास्थ्य, पोषण र कल्याणबारे विश्वव्यापी चेतना फैलाउन आफ्नो ब्रान्डले योगदान पुर्‍याइरहेको बताएकी छन्।

हिमालयको एउटा साधारण परम्परागत उत्पादनबाट सुरु भएको यात्रा आज कान्सको रेड कार्पेटसम्म पुग्नु केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाली उद्यमशीलता, नवप्रवर्तन, परिश्रम र विश्वस्तरको सोच को प्रेरणादायी उदाहरण बनेको छ। यसले विश्व बजारमा नेपाली उत्पादनको सम्भावना अझ व्यापक रहेको सन्देश पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij