२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

‘सम्सारा घर’ उद्घाटनको तयारी अन्तिम चरणमा, कृषि तथा पशुपालनबाट आत्मनिर्भर बनाउने योजना

‘सम्सारा घर’ उद्घाटनको तयारी अन्तिम चरणमा, कृषि तथा पशुपालनबाट आत्मनिर्भर बनाउने योजना

फेयर लन, न्यू जर्सी/  ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठको पहलमा पर्वतको पैयुँ गाउँपालिकामा निर्माण भइरहेको ‘सम्सारा घर’ परियोजना उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ। ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनको संयुक्त प्रयासमा अघि बढाइएको परियोजनाको औपचारिक उद्घाटन २०८३ साल माघको तेस्रो साता गर्ने तयारी गरिएको छ।

अनाथ, विपन्न, अल्पसंख्यक तथा विभिन्न अवसरबाट वञ्चित बालबालिकालाई सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्य र आत्मनिर्भर जीवनका लागि आवश्यक अवसर उपलब्ध गराउने उद्देश्यले परियोजना सुरु गरिएको हो।

भवन निर्माण अन्तिम चरणमा पुगेसँगै सम्सारा घरलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने योजना पनि अघि बढाइएको छ। त्यसअन्तर्गत कृषि तथा पशुपालनका कार्यक्रम विस्तार गरिँदै छन्।

संस्थाका अनुसार सम्सारा घरलाई बालबालिकालाई आश्रय दिने केन्द्रमा मात्र सीमित नगरी सक्षम, जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिक तयार गर्ने दीर्घकालीन अभियानका रूपमा विकास गरिनेछ। यहाँ आश्रित बालबालिकाले निःशुल्क आवास, पौष्टिक भोजन, गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, स्वास्थ्य सेवा, नेतृत्व विकास, व्यावसायिक सीप तथा उच्च शिक्षासम्मको अवसर पाउनेछन्। व्यवहारिक जीवनका लागि आवश्यक सीप, अनुशासन र जिम्मेवारीबोधलाई पनि शिक्षाको अभिन्न हिस्सा बनाइने परियोजनाले जनाएको छ।

परियोजनाको जग निर्माणमा श्रेष्ठ परिवारको प्रत्यक्ष योगदान रहेको छ। सम्सारा घर निर्माणका लागि राजेन्द्र अञ्जना फाउन्डेशनलाई चार रोपनी जग्गा उपलब्ध गराइएको छ भने कृषि तथा पशुपालन कार्यक्रम सञ्चालनका लागि थप तीन रोपनी जग्गा खरिद गरिएको छ। परिवारकै स्वामित्वमा रहेको अन्य खेतीयोग्य जमिनसमेत कृषि उत्पादनका लागि फाउन्डेशनलाई निःशुल्क प्रयोग गर्न दिइएको छ।

आत्मनिर्भर परियोजनाको अवधारणाअनुसार गाई तथा भैंसीपालनबाट दूध, बाख्रापालनबाट मासु र कुखुरापालनबाट मासु तथा अण्डा उत्पादन गर्ने योजना छ। आफ्नै जमिनमा धान, मकै, गहुँ, कोदो, विभिन्न तरकारी तथा मौसमी बाली उत्पादन गर्ने तयारीसमेत भइरहेको छ।

यसबाट बालबालिकाका लागि ताजा तथा स्वस्थ खाद्यान्न उपलब्ध हुने र उनीहरूले कृषि, वातावरण संरक्षण, श्रमको सम्मान, जिम्मेवारी तथा आत्मनिर्भर जीवनसम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्ने संस्थाको अपेक्षा छ। आवश्यकताभन्दा बढी उत्पादन हुने दूध, अण्डा, मासु, अन्न, तरकारीलगायतका सामग्री स्थानीय बजारमा बिक्री गरिनेछ। बिक्रीबाट प्राप्त आम्दानी बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, व्यावसायिक तालिम तथा परियोजनाको विस्तारमा पुनः लगानी गरिने जनाइएको छ।

हाल सम्सारा घरमा १० जना बालबालिका आश्रित छन्। आगामी तीन वर्षभित्र ५० जना बालबालिकालाई निःशुल्क सेवा उपलब्ध गराउने लक्ष्य परियोजनाले लिएको छ।

परियोजनाअन्तर्गत आवासीय सुविधाका अतिरिक्त २५० सिट क्षमताको बहुउद्देश्यीय सभाहल, खेल मैदान, पुस्तकालय तथा कम्प्युटर प्रयोगशाला, स्वयंसेवकका लागि आवास र नेतृत्व विकास केन्द्र निर्माण गरिनेछ। बालबालिकालाई आत्मनिर्भर बनाउन विभिन्न व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने योजना पनि छ।

सम्सारा घरको पुस्तकालय र कम्प्युटर प्रयोगशाला Rotary International Global Grant अन्तर्गत अमेरिकाको Fair Lawn Sunrise Rotary Club तथा नेपालको Fishtail Rotary Club, Pokhara को सहकार्यमा निर्माण भइरहेको छ।

सम्पूर्ण परियोजनाको अनुमानित लागत करिब १० करोड रुपैयाँ अर्थात् करिब ६ लाख ७० हजार अमेरिकी डलर रहेको संस्थाले जनाएको छ। संस्थाका अनुसार यो रकम भवन निर्माणमा मात्रै गरिएको लगानी नभई नेपालका बालबालिकाको सुरक्षित, शिक्षित र आत्मनिर्भर भविष्यका लागि गरिएको दीर्घकालीन सामाजिक लगानी हो।

परियोजनाले आर्थिक पारदर्शिता र बालबालिकाको भविष्यको सुरक्षालाई पनि प्राथमिकतामा राखेको जनाएको छ। सम्सारा घरका लागि प्राप्त हुने नगद दान दैनिक सञ्चालन खर्चमा प्रयोग नगरी प्रत्येक बालबालिकाको नाममा उच्च ब्याजदरको बचत कोषमा सुरक्षित राखिनेछ। माध्यमिक शिक्षा पूरा गरेपछि सम्बन्धित बालबालिकाले उच्च शिक्षा, व्यावसायिक तालिम वा भविष्य निर्माणका लागि उक्त रकम उपयोग गर्न सक्ने व्यवस्था गरिने फाउन्डेशनले जनाएको छ।

परियोजनाको अर्को महत्वपूर्ण पक्ष सामाजिक उद्यमशीलता हो। श्रेष्ठ परिवारद्वारा सञ्चालित ARC Beauty Salon र Himalayan Fresh Water बाट हुने नाफाको ७५ प्रतिशत हिस्सा ARC for Nepal मार्फत अमेरिका र नेपालमा सञ्चालन हुने सामुदायिक सेवा तथा बालबालिकाको भविष्य निर्माणमा लगानी गर्ने गरिएको संस्थाले जनाएको छ।

व्यवसायबाट प्राप्त सफलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै समुदाय र बालबालिकाको भविष्यमा लगानी गर्न सकिन्छ भन्ने सन्देश दिन यो अभ्यास अघि बढाइएको संस्थाको भनाइ छ।

सम्सारा घरको निर्माण तथा उद्घाटन तयारी अन्तिम चरणमा पुगेसँगै ARC for Nepal र राजेन्द्र अञ्जना फाउन्डेशनले विश्वभर रहेका व्यक्ति, व्यवसायी, रोटरी क्लब, संघसंस्था तथा दातृ निकायलाई परियोजनामा सहकार्य गर्न आग्रह गरेका छन्।

संस्थाले सफलता केवल व्यक्तिगत उपलब्धि नभई अरूलाई अघि बढ्ने अवसर सिर्जना गर्ने माध्यम हुनुपर्नेमा जोड दिएको छ। परिवार, व्यवसाय र संस्थाले आफ्नो सफलताको केही हिस्सा बालबालिकाको भविष्य निर्माणमा लगानी गरे हजारौँ जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उसको विश्वास छ।

सम्सारा घर परियोजना, निर्माण प्रगति, बालबालिकाका लागि सञ्चालन हुने कार्यक्रम तथा सहयोगसम्बन्धी जानकारीका लागि ARC for Nepal का संस्थापक राजेन्द्र श्रेष्ठ (Ray) लाई (201) 519-2959 मा सम्पर्क गर्न वा ray@arcfornepal.org मा इमेल गर्न सकिनेछ। परियोजनाबारे थप विवरण संस्थाको आधिकारिक वेबसाइट www.arcfornepal.org मा उपलब्ध रहेको ARC for Nepal ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij