मे ३ अर्थात, विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभर प्रेस स्वतन्त्रताको अवस्था मूल्यांकन गर्ने, चुनौतीहरू पहिचान गर्ने र सुधारका उपायहरू खोज्ने अवसरका रूपमा मनाइन्छ। नेपालमा पनि यस दिन औपचारिक कार्यक्रम, शुभकामना सन्देश र छलफलहरूको आयोजना हुन्छ। तर यस्ता औपचारिकताभन्दा बाहिर निस्केर हेर्ने हो भने मूल प्रश्न अझै जिउँदै छ, के नेपालको प्रेस साँच्चै स्वतन्त्र छ ? त्यो स्वतन्त्रता नागरिकको हितमा प्रयोग भइरहेको छ कि छैन ?
पछिल्ला तथ्यांकहरूले नेपालको प्रेस स्वतन्त्रताको अवस्थालाई मिश्रित चित्रका रूपमा प्रस्तुत गर्छन्। एकातिर संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ भने अर्कोतिर व्यवहारमा पत्रकारहरू निरन्तर दबाब, धम्की र आक्रमणको जोखिममा छन्। पछिल्लो एक वर्षमा मात्रै करिब एक सय वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना दर्ता हुनु र त्यसबाट डेढ सयभन्दा बढी पत्रकार प्रभावित हुनु सामान्य कुरा होइन। अझ चिन्ताजनक पक्ष के छ भने यस्ता घटनाहरू राजधानी काठमाडौंमै बढी केन्द्रित छन्, जसले राज्यको उपस्थितिमै पत्रकार असुरक्षित छन् भन्ने सन्देश दिन्छ। धम्की, आक्रमण, अवरोध, पक्राउ र मुद्दा जस्ता गतिविधिहरूले प्रेस स्वतन्त्रतालाई कागजमा सीमित बनाउने खतरा बढाइरहेका छन्।
यी समस्याहरूको जरो खोज्दा सबैभन्दा पहिले राजनीतिक र शक्तिकेन्द्रित दबाब देखिन्छ। नेपालमा अझै पनि पत्रकारितालाई स्वतन्त्र पेशा भन्दा पनि शक्ति समीकरणको उपकरणका रूपमा हेर्ने प्रवृत्ति बलियो छ। राजनीतिक दल, सरकारी संयन्त्र वा प्रभावशाली समूहहरूबाट आउने प्रत्यक्ष वा अप्रत्यक्ष दबाबले समाचारको स्वरूपमै हस्तक्षेप गरिरहेको हुन्छ। त्यसमाथि विद्यमान केही कानुनी प्रावधानहरू, विशेषगरी साइबर कानुन अन्तर्गतका धाराहरू, प्रेस स्वतन्त्रताको संरक्षणभन्दा नियन्त्रणतर्फ बढी प्रयोग भइरहेको देखिन्छ। यसले पत्रकारहरूमा आत्मनियन्त्रण (Self Censorship) को प्रवृत्ति बढाइरहेको छ, जुन दीर्घकालीन रूपमा झन् खतरनाक हो।
दण्डहीनता अर्को गम्भीर समस्या हो। पत्रकारमाथि आक्रमण हुँदा वा धम्की दिइँदा त्यसको छानबिन र कारबाही प्रभावकारी रूपमा नहुँदा दोषीहरू उत्साहित हुने र पीडितहरू निरुत्साहित हुने अवस्था देखिन्छ। यसले पत्रकारितालाई जोखिमपूर्ण पेशा बनाउँदै लगेको छ। त्यस्तै, सञ्चारमाध्यमहरूको आर्थिक अवस्था पनि स्वतन्त्रतासँग प्रत्यक्ष रूपमा जोडिएको छ। विज्ञापन बजारमा सरकारी प्रभाव, निजी क्षेत्रको स्वार्थ र बजारको असन्तुलनले गर्दा मिडियाहरू आर्थिक रूपमा निर्भर र कमजोर बन्दै गएका छन्। आर्थिक निर्भरता स्वतन्त्रताको सबैभन्दा ठूलो शत्रु बन्न सक्छ भन्ने कुरा नेपाली सन्दर्भमा झन् स्पष्ट देखिन्छ।
डिजिटल युगले थप नयाँ चुनौतीहरू जन्माएको छ। अनलाइन मिडियाको विस्तारसँगै सूचनाको पहुँच त बढेको छ, तर त्यससँगै जोखिम पनि बढेको छ। विशेषगरी अनलाइन माध्यममा काम गर्ने पत्रकारहरू बढी निशानामा पर्ने गरेका छन्। सामाजिक सञ्जालमार्फत हुने ट्रोल, चरित्रहत्या र डिजिटल आक्रमणले पत्रकारहरूको मनोबल कमजोर बनाइरहेको छ। यसले स्वतन्त्र रूपमा लेख्न र बोल्न सक्ने वातावरणलाई सीमित बनाइरहेको छ।
यस्तो अवस्थामा प्रेस स्वतन्त्रतालाई अझ मजबुत बनाउन बहुपक्षीय सुधार अपरिहार्य छ। राज्य, विशेषगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ले प्रेसमैत्री कानुनी संरचना निर्माण गर्नुपर्ने र विवादित प्रावधानहरूलाई पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ। पत्रकारमाथि हुने कुनै पनि प्रकारका आक्रमणप्रति शून्य सहिष्णुताको नीति अवलम्बन गरिनु आवश्यक छ। त्यस्तै, प्रेस काउन्सिल नेपाल ले केवल निगरानी गर्ने संस्थाको भूमिकाबाट अघि बढेर प्रभावकारी र निष्पक्ष नियामकका रूपमा आफूलाई स्थापित गर्नुपर्छ। आचारसंहिता उल्लंघनका घटनामा निष्पक्ष र समयमै कारबाही हुनु आवश्यक छ, जसले पत्रकारिताको विश्वसनीयता बढाउँछ।
नेपाल पत्रकार महासंघ को भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। यो संस्था केवल पेशागत संगठन नभई पत्रकारहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्ने अभिभावक संस्था हो। त्यसैले यसले राजनीतिक प्रभावबाट माथि उठेर पत्रकारहरूको पेशागत हितमा स्पष्ट र दृढ आवाज उठाउनुपर्ने हुन्छ। साथै, सञ्चारमाध्यमहरूले पनि आफ्नो भूमिकामा गम्भीर आत्ममूल्यांकन गर्न जरुरी छ। समाचारलाई ‘उत्पादन’ र पाठकलाई ‘उपभोक्ता’ का रूपमा मात्र हेर्ने प्रवृत्तिले पत्रकारिताको मर्मलाई कमजोर बनाउँछ। क्लिकबेट, अपुष्ट सूचना र सनसनीभन्दा विश्वसनीयता र तथ्यलाई प्राथमिकता दिनु आजको आवश्यकता हो।
अन्ततः, पत्रकार स्वयंले पनि स्वतन्त्रता र जिम्मेवारीबीचको सन्तुलन बुझ्नुपर्ने हुन्छ। स्वतन्त्रता भनेको जे पायो त्यही लेख्ने वा प्रसारण गर्ने छुट होइन, बरु सत्य, सन्तुलन र नैतिकताको पालनासँग जोडिएको जिम्मेवारी हो। जब पत्रकारले आफ्नो पेशागत धर्म इमान्दारीपूर्वक निर्वाह गर्छ, तब मात्रै प्रेस स्वतन्त्रता सार्थक हुन्छ।
आजको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण बहस यही हो – प्रेस स्वतन्त्रता स्वेच्छाचारितातर्फ उन्मुख त छैन ? यदि प्रेस स्वतन्त्रताको प्रयोग नागरिकको हितमा नभई गलत सूचना, पूर्वाग्रह र चरित्रहत्या फैलाउन प्रयोग हुन्छ भने त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ। त्यसैले अबको आवश्यकता “स्वतन्त्र प्रेस” मात्र होइन, “जिम्मेवार र उत्तरदायी प्रेस” हो।
अन्ततः, प्रेस स्वतन्त्रता कुनै एक पक्षको एजेन्डा होइन – यो राज्य, संस्था, मिडिया र पत्रकार सबैको साझा जिम्मेवारी हो। जब यी सबै पक्षहरू आफ्नो भूमिकामा इमान्दार हुन्छन्, तब मात्रै प्रेस स्वतन्त्रता वास्तवमै नागरिकको पक्षमा उभिन्छ र लोकतन्त्रको मेरुदण्डका रूपमा स्थापित हुन्छ। -लेखक समाजप्रेसकी ग्लोबल इडिटर एवं नेजाकी कोषाध्यक्ष हुन् ।