२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

निर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

निर्मल पुर्जाको सम्मानमा अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

समाना देवकोटा
अस्टिन, टेक्सास

पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा २०८३ साउन १५ गते गएको भीषण हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ को सम्मानमा उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका ले सोमबार शोक बिदा घोषणा गरेको छ।

गाउँपालिकाले आइतबार जारी गरेको सूचनाअनुसार दिवंगत पुर्जा तथा हिमपहिरोमा ज्यान गुमाएका आरोहण टोलीका अन्य सदस्यहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा सोमबार शोक बिदा दिइनेछ।

अन्नपूर्ण गाउँपालिका–२, दानाका स्थायी बासिन्दा पुर्जाले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याउन, नेपाली पर्वतारोहीको पहिचानलाई विश्वभर स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न पुर्‍याएको योगदान सदैव स्मरणीय रहने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले जारी गरेको शोक सन्देशमा निर्मल पुर्जाको असामयिक निधनले अन्नपूर्ण गाउँपालिका परिवार, म्याग्दीवासी मात्र नभई सम्पूर्ण नेपाली र विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ। उनको निधन नेपालका लागि मात्र नभई विश्व पर्वतारोहण क्षेत्रकै अपूरणीय क्षति भएको गाउँपालिकाको भनाइ छ।

गाउँपालिकाले शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै नेपाली पर्वतारोहण क्षेत्रमा निर्मल पुर्जाले पुर्‍याएको योगदान भावी पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा सदैव स्मरणीय रहने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij