२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन

निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन

झापा। जिल्लाका अधिकांश निजी फर्मले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ। कृषि ज्ञान केन्द्र झापाको अगुवाइमा मङ्गलबार गरिएको अनुगमनमा यस्तो समस्या देखिएपछि सम्बन्धित फर्महरूलाई मापदण्डअनुसार विवरण राख्न र प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिइएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भद्रपुर र बिर्तामोड नगरपालिका तथा हल्दीबारी र बाह्रदशी गाउँपालिकामा बिक्रीवितरणका लागि अनुमति लिएका सहकारी तथा निजी फर्महरूको संयुक्त अनुगमन गरिएको हो। अनुगमनका क्रममा सहकारी संस्थाहरूले बिक्री विवरणसम्बन्धी बिल तथा प्रतिवेदन व्यवस्थित रूपमा राख्ने गरेको पाइए पनि अधिकांश निजी फर्महरूले त्यस्तो अभिलेख नराखेको भेटिएको उनले जानकारी दिए।

सरकारले किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको युरिया, डीएपी र पोटासलगायतका रासायनिक मल स्थानीय तहले निर्धारण गरेको मूल्यमा बिक्री भइरहेको छ वा छैन भन्ने विषयमा विशेष निगरानी गरिएको थियो। साथै किसानलाई मल बिक्री गर्दा अनिवार्य रूपमा बिल जारी गरिएको छ वा छैन भन्ने पक्ष पनि अनुगमनको मुख्य आधार बनाइएको केन्द्रका प्रमुख विष्टले बताए।

स्थानीय तहको सिफारिसमा छनोट भएका डिलरमार्फत कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ।

अनुगमनमा ती दुवै कम्पनीका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति तथा नेपाल प्रहरीका प्रतिनिधि सहभागी थिए। संयुक्त टोलीले चार स्थानीय तहअन्तर्गत ११ बिक्री केन्द्रको स्थलगत निरीक्षण गरेको हो।

केन्द्रका अनुसार आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिइने र मापदण्डविपरीत काम गर्ने विक्रेतामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ । साथै किसानलाई सहज, पारदर्शी र प्रभावकारी रूपमा मल उपलब्ध गराउने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग समन्वय सुदृढ गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij