काठमाडौं । खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ ।
विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर भूभागमा फलामको ‘विलेड’ पाइएको हो ।
फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिएको छ । कम्पनीले फलाम भण्डारको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
करिब ४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उक्त फलाम खानीबाट ६० वर्षसम्म दैनिक एक हजार ५०० टन फलाम उत्पादन गर्ने क्षमता रहेको कम्पनीका निर्देशक शैलेशकुमार थापाले जानकारी दिए । उक्त परियोजनाबाट वार्षिक पाँच लाख टन फलामजन्य वस्तु उत्पादन गर्न सकिने भन्दै उहाँले त्यसले देशको मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्ने बताए।
हाल खानी सञ्चालनपछि वातावरणमा पर्ने असरबारे पर्यावरणीय प्रभाव मूल्याङ्कन भइरहेको निर्देशक थापाले बताए। विस्तृत परियोजना रिपोर्टको काम छिट्टै सुरु हुने पनि उनले जानकारी दिए ।
हाल खानीसम्म पुग्नका लागि पूर्वाधार तथा सडकको स्तरोन्नति भइरहेको छ । खानी सञ्चालनले स्टिल उद्योग विकास तथा ठूलो सङ्ख्यामा रोजगारी सिर्जना हुने र फलामको आयात अपेक्षा गरिएको छ । कार्यालयका अर्का निर्देशक दिलिपकुमार झाले खानी सञ्चालन भएका स्वदेशी पुँजी स्वदेशमै परिचालन भएर राष्ट्रको समृद्धि हासिल गर्न सघाउ पुग्ने बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij