२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारले कर्णाली प्रदेशलाई इन्धनमा विशेष सहुलियत दिनुपर्ने बताए ।

‘कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,’ उनले भने। उनले छिमेकी देश भारतले पनि इन्धनमा धेरै मूल्यवृद्धि नगरेको बताए । सरकारले नागरिकमाथि मूल्यवृद्धिको भार घटाउनुपर्नेमा उनले जोड दिए ।

करिब दुईतिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने उनले उल्लेख गरे । आफूले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा कर्णालीको विद्युतीकरणमा र प्रसारणलाइनका निम्ति करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको उनले जिकिर गरे । उनका अनुसार, १३२ केभी प्रसारणलाइनको काम जुम्लासम्म भइरहेको छ ।

छोटो समयमै पार्टी गठन र त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै आफूहरू चुनावमा जानुपरेको उनले स्मरण गरे । सोही कारण हार व्यहोर्नुपरेता पनि अबको निर्वाचनमा आफूहरू ठूलो पार्टी भएर आउने र वडा तहसम्म संगठन विस्तार गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij