काठमाडौँ- केही महिना अगाडिसम्म जीवन कति दिन होला भन्ने चिन्तामा रहेका बाबुराम विश्वकर्मा दम्पती दोस्रो जीवन पाएको खुसी बोकेर शुक्रबार घर फर्किएको छ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा कलेजो दान गर्ने आफ्नै श्रीमती आशा सुनार र शल्यक्रिया गरेर सफल उपचार गर्ने चिकित्सकसहितको टोलीसँग खुसी साट्दै सकुशल घर फर्किएका हुन्।
कलेजो दाता आशालाई अब श्रीमान्को जीवन यति नै हो कि भन्ने चिन्ताले दिनानुदिन सताएको पीडा शुक्रबार सफल उपचारपछि घर फर्किंदा सबै पीडा बिर्साएको छ। घर फर्कंदै गरेका विश्वकर्मा आफ्नै कलेजो दान गरेर आफूलाई दोस्रो जीवन दिने श्रीमती आफ्ना लागि जीवनदाता भएको बताउँछन्।
केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपण गरेका विश्वकर्मा र कलेजोदाता सुनार दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताए।
दाङ जिल्लाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उनकै ३७ वर्षीया श्रीमती आशा सुनारले आधा कलेजो दान गरेर दोस्रो जीवन दिएको उनले बताए।
कलेजो ग्रहणकर्ता विश्वकर्मा र कलेजो दाता सुनारले आफ्नै देशको अस्पतालमा यति ठूलो सेवा लिन पाउँदा अत्यन्त खुसी लागेको बताए।
देशमै पहिलोपटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको सुरुआत गर्नका साथै केन्द्र स्थापनाको छोटो अवधिमै अङ्गदान र प्रत्यारोपण क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए।
उनले अङ्गदान तथा प्रत्यारोपणमा विश्वको धेरै अङ्ग प्रत्यारोपण गर्ने देशमध्ये नेपाल ९९ प्रतिशतभन्दा बढी सफलताका साथ मिर्गाैला प्रत्यारोपण गर्ने देशका रूपमा स्थापित हुन सफल भएको बताए। केन्द्रले स्थापना भएको १० वर्षको अवधिमा एक हजार ७० जनाको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरेको उनले सुनाए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij