२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इरान युद्धपछि ट्रम्प-सी भेट आगामी मे मा हुने

इरान युद्धपछि ट्रम्प-सी भेट आगामी मे मा हुने

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग मे १४–१५ मा चीनमा भेटवार्ता गर्ने घोषणा गरेका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण यसअघि तय गरिएको भ्रमण स्थगित भएपछि नयाँ मिति तय गरिएको हो।

करिब एक दशकपछि कुनै अमेरिकी राष्ट्रपतिको चीन भ्रमण हुन लागेको बताइएको छ । ट्रम्पले यसै वर्षपछि वाशिङ्टन डीसीमा सीलाई स्वागत गर्ने तयारीसमेत भइरहेको उल्लेख गरेका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटले भ्रमणको मिति पुष्टि गर्दै सिले भ्रमण सार्ने निर्णयलाई स्वीकार गरेको बताइन् । ‘अहिलेको सैन्य अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति अमेरिकामै रहनु आवश्यक रहेको कुरा सी ले बुझ्नु भएको छ,’ उनले भनिन्।

बेइजिङले भने औपचारिक प्रतिक्रिया दिएको छैन। चीनले सामान्यतया राष्ट्रपतिको कार्यतालिका अग्रिम सार्वजनिक नगर्ने प्रचलन रहेको छ।

पहिले मार्च ३१ मा तय गरिएको भ्रमण अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण गरेपछि स्थगित भएको थियो । त्यसपछि इरानले इजरायल र खाडी क्षेत्रमा अमेरिकी सहयोगी देशहरूमाथि आक्रमण गर्दै ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग बन्द गरेको थियो, जसका कारण विश्वव्यापी इन्धन संकट उत्पन्न भएको छ।

ट्रम्पले उक्त जलमार्ग खुलाउन सहयोगी राष्ट्रहरूलाई आग्रह गर्दै इरानलाई चेतावनी दिएका छन्। युद्ध कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा लेभिटले चारदेखि ६ हप्ताको समय लाग्ने अनुमान रहेको बताइन्।

ट्रम्प र सीबीच पछिल्लो भेट गत नोभेम्बरमा दक्षिण कोरियामा आयोजित एपेक सम्मेलनका क्रममा भएको थियो। दुवै देशबीच व्यापार, प्रविधि र भूराजनीतिक प्रतिस्पर्धाका कारण सम्बन्ध तनावपूर्ण रहँदै आएको छ।

ट्रम्पको आगामी भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुधार हुने संकेतका रूपमा चासोका साथ हेरिएको छ। चीनका सरकारी सञ्चारमाध्यमहरूले पनि अमेरिकी अधिकारीहरूलाई संवाद बढाउन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij