२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

गण्डकी । आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख शहरलाई लक्षित गरी ‘जाउँ है पोखरा’ कार्यक्रम सुरुआत गरिएको छ ।

होटेल संघ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा आयोजित सो कार्यक्रम आजदेखि १३ चैतसम्म जारी रहनेछ ।

विगत २२ वर्षदेखि सञ्चालन भइराखेको सो अभियान वीरगञ्ज, हेटौँडा, विराटनगर, इलामलगायतका शहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना हुने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

पोखरामा क्रियाशील पर्यटन व्यवसायी, होटेल व्यवसायीका साथै सञ्चारकर्मीसहितको १९ सदस्यीय टोलीले अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तरक्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिने उनले बताए ।

उक्त क्रममा आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिने उनले जानकारी दिए । ‘संघकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका लागि पूर्वी नेपालका स्थानीयलाई निम्तो दिनुपनि हाम्रो कार्यक्रमको उद्देश्य हो’, उनले भने । महोत्सव २९ चैत १ वैशाखसम्म फेवातालको किनारा लेकसाइड क्षेत्रमा सञ्चालन हुनेछ । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्द्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव गरिँदै आइएको छ ।

पोखरा पर्यटनको राजधानी रहेको र यस सहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन यस अभियानले महत्त्वपूर्ण सहयोग पुर्‍याउने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।

कार्यक्रमका अवसरमा पूर्वी नेपाल र पोखराबीचको पर्यटकीय साझेदारी बढाउने लक्ष्य राखिएको छ ।

विगतमा पोखराबाट भद्रपुर र विराटनगरलगायत शहरसम्म सञ्चालित सिधा हवाई सेवालाई पुनः नियमितता प्रदान गर्न र ती शहरबाट पोखरासम्मस्तरीय पर्यटक बस सेवा सञ्चालनका लागिसमेत पूर्वका पर्यटन व्यवसायीसँग सहकार्यको प्रस्ताव राखिनेछ ।

पोखराको होटेल क्षेत्रमा मात्रै ६ खर्बको लगानी भएको बताउँदै अध्यक्ष सुवेदीले यहाँ करिब १ हजार २०० को संख्यामा होटेल रहेको जानकारी दिए । पोखरामा सञ्चालित होटेलका कारण करिब १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij