२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

इन्धन अभावले क्युबामा मानवीय सङ्कट गहिरिँदै, स्वास्थ्य सेवा गम्भीर प्रभावित

इन्धन अभावले क्युबामा मानवीय सङ्कट गहिरिँदै, स्वास्थ्य सेवा गम्भीर प्रभावित

संयुक्त राष्ट्रसङ्घ । क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिएको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार इन्धन आयात गर्न नसक्दा क्युबामा ऊर्जा सङ्कट बढ्दै गएको छ, जसले स्वास्थ्य सेवा लगायतका आधारभूत सेवाहरूलाई गम्भीर रूपमा प्रभावित बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयका अनुसार अस्पतालहरूमा बारम्बार विद्युत् कटौती, अत्यावश्यक औषधिको अभाव तथा महत्वपूर्ण चिकित्सा उपकरण सञ्चालनमा समस्या देखिएको छ । क्यान्सर उपचार, डायलिसिस सेवा, आकस्मिक उपचार, शिशु तथा मातृ स्वास्थ्य सेवा समेत प्रभावित भएका छन् ।

विद्युत् र स्रोतको अभावका कारण करिब १६ हजार क्यान्सर बिरामीलाई रेडियोथेरापी तथा १२ हजारभन्दा बढी बिरामीलाई केमोथेरापी उपचार उपलब्ध गराउन कठिन भएको जनाइएको छ । एम्बुलेन्समा इन्धन अभाव हुँदा आकस्मिक उपचारमा ढिलाइ भइरहेको छ ।

त्यसैगरी, झण्डै १० लाख मानिस ट्याङ्करबाट ल्याइने पानीमा निर्भर रहेको र पानी पम्प गर्ने अधिकांश प्रणाली विद्युत्मा आधारित भएकाले सेवा अवरुद्ध भइरहेको बताइएको छ ।

खाद्य आपूर्ति प्रणाली पनि प्रभावित भएको छ । उत्पादनदेखि भण्डारण र वितरणसम्मको प्रक्रियामा समस्या देखिएकाले देशभर आधारभूत खाद्य वस्तुको उपलब्धता घट्दै गएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै क्युबामा मानवीय सहायता पुर्याउने प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij