२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

रविको मुद्दा फिर्ता लिने सरकारको निर्णयबारे सर्वोच्चको पूर्ण इजलासबाट टुंगो लाग्ने

रविको मुद्दा फिर्ता लिने सरकारको निर्णयबारे सर्वोच्चको पूर्ण इजलासबाट टुंगो लाग्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्धको रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । यसअघि महान्यायाधिवक्ता कार्यालयले रविमाथिको अभियोग संशोधन गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा नचलाउने निर्णय गरेको थियो ।

रविसँगै सहकारी ठगी प्रकरणमा जोडिएका सबैमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोग फिर्ता लिने निर्णय भएको थियो ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी र युवराज सफललगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

महान्यायाधिवक्ता सविता भण्डारीले सरकारको निर्देशनअनुसार पुस ३० गते रविसहित उनका साझेदार जीबी राई र पूर्वडीआईजी छविलाल जोशीसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।

संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता भएमा चितवन २ बाट निर्वाचित रविलाई संसद प्रवेशमा सहज हुनेछ । तर यी मुद्दा कायमै रहेमा रविले चितवन २ बाट जिते पनि सांसदका रुपमा काम गर्न पाउने छैनन् ।

रविसहित उनका साझेदारविरुछ कास्की, रूपन्देही, पर्सा, काठमाडौँ र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा विचाराधीन छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij