तेहरान । इरान र संयुक्त राज्य अमेरिकाबीच अप्रत्यक्ष वार्तामा अन्तरिम परमाणु सम्झौताको सम्भावना रहेको भन्ने अफवाहलाई इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अस्वीकार गरेका छन् ।
तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बाघाईले अस्थायी सम्झौताको अनुमानमा कुनै आधार नभएको र कुनै पनि विवरण वार्ताको टेबलमा छलफल हुने बताए ।
उनले भने, ‘अमेरिकी प्रतिबन्ध र आणविक मुद्दा अन्त्य गर्ने इरानको अडान स्पष्ट छ, हामी अमेरिकी पक्षको दृष्टिकोणसँग राम्ररी जानकार छौँ।’
बाघाईले भने, ‘यदि दुबै पक्षले सद्भाव प्रदर्शन गरे भने आगामी दुई–तीन दिनभित्र हामी अर्को चरणको वार्ता गर्न सक्षम हुनेछौँ भन्नेमा हामी आशावादी छौँ ।’
उनले इरान कूटनीतिमा अघि बढ्न कटिबद्ध रहेको तर आफ्नो वैधानिक अधिकारमाथि सम्झौता गर्ने कुरा कहिल्यै नस्वीकार्ने बताए ।
पश्चिम एसिया क्षेत्रमा अमेरिकी सैन्य खटन भइरहेका बेला इरान र संयुक्तराज्य अमेरिकाबीच बिहीबार जेनेभामा तेस्रो चरणको अप्रत्यक्ष आणविक वार्ता हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij