२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

किम जोङ उन उत्तर सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित

किम जोङ उन उत्तर सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा पुनः निर्वाचित

सियोल । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको प्रमुखमा किम जोङ उन पुनः निर्वाचित भएका छन् । राज्य सञ्चारमाध्यम केसिएनकाअनुसार आइतबार हजारौं प्रतिनिधिहरूको सर्वसम्मत समर्थनसहित किम पुनः महासचिवमा निर्वाचित भएका हुन्।

पार्टीले उनको नेतृत्वले “कुनै पनि आक्रमणको खतरा” सामना गर्न सक्ने सैन्य क्षमता विकास गरेको दाबी गरेको छ र यसले राष्ट्रिय गौरव तथा आत्मसम्मान बढाएको जनाएको छ।

प्रतिनिधिहरूले देशको आणविक भण्डार विस्तार र क्षेत्रीय प्रभाव सुदृढ बनाएको भन्दै उनको नेतृत्वको प्रशंसा गरेका छन् । पार्टी महाधिवेशनको प्रतिवेदनअनुसार आगामी पाँच वर्षका लागि राजनीतिक तथा सैन्य लक्ष्य सार्वजनिक गर्ने तयारीमा रहेका किमले आणविक कार्यक्रमलाई अझ तीव्रता दिने संकेत दिएका छन्।

उत्तर कोरियासँग हाल एसियाली अमेरिकी सहयोगी राष्ट्रहरू र अमेरिकी मुख्यभूमिलाई समेत चुनौती दिन सक्ने क्षेप्यास्त्र क्षमता रहेको बताइन्छ ।

१३८ सदस्यीय शक्तिशाली केन्द्रीय समितिको नयाँ सूची सार्वजनिक गर्दै पार्टीले नेतृत्व तहमा पुस्तान्तरण भएको पुष्टि गरेको छ। वृद्ध सैनिक अधिकारीहरू र औपचारिक संसदका प्रमुखसहित दर्जनौं सदस्यहरूलाई हटाइएको छ ।

गत बिहीबारदेखि सुरु भएको महाधिवेशनमा किमले क्षेत्रीय राजनीतिमा आक्रामक भूमिका बढाइरहेको समयमा भइरहेको हो । उनले आणविक कार्यक्रम विस्तारसँगै रुससँग युक्रेन युद्धसँग सम्बन्धित सहकार्यमार्फत सम्बन्ध नजिक बनाएका छन्, जसले वासिङ्टन र सोलसँगको तनाव बढाएको छ ।

विश्लेषकहरूका अनुसार किमले परम्परागत सैन्य शक्ति सुदृढ गर्दै त्यसलाई आणविक क्षमतासँग एकीकृत गर्ने योजना अघि सार्न सक्छन्। महामारीपछिको आर्थिक सुधारलाई बलियो बनाउन ‘आत्मनिर्भरता’ अभियानलाई पनि पुनः जोड दिइने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij