नेपाली कांग्रेस विशेष महाधिवेशनपछि एउटा संवेदनशील तर सम्भावनायुक्त मोडमा पुगेको छ। यही प्रक्रियाबाट गगन थापा सभापतिमा आउनु केवल नेतृत्व परिवर्तन होइन, कांग्रेसभित्र लामो समयदेखि जमेको असन्तोष, परिवर्तनको चाहना र पुस्तान्तरणको दबाबको परिणाम हो। महाधिवेशनको वैधानिकता र प्रक्रियालाई लिएर विवाद भए पनि गगन थापाले त्यो विवादबाट भागेनन्। बरु, कांग्रेसलाई रूपान्तरण नगरी अब अघि बढ्न नसकिने यथार्थ स्वीकार्दै नेतृत्वको जिम्मेवारी लिए।
गगन थापाको राजनीतिक पहिचान स्पष्ट छ — उनी सजिलो लोकप्रियताभन्दा कठिन निर्णय रोज्ने नेता हुन्। कांग्रेसलाई पुरानै शैली, पुरानै भाषण र सीमित घेराभित्र राखिरहँदा पार्टी कमजोर हुँदै गएको अनुभूति उनले लामो समयदेखि उठाउँदै आएका थिए। विशेष महाधिवेशनको बाटो रोज्नु जोखिमपूर्ण थियो, तर त्यसले कांग्रेसभित्र ‘यथास्थिति चल्दैन’ भन्ने सन्देश पनि दिएको छ। यही कारणले उनको नेतृत्वलाई धेरैले आशाको रूपमा हेरेका छन्।
यस यात्रामा गगन एक्ला थिएनन्। पार्टीभित्र परिवर्तन चाहने नेताहरू र कार्यकर्ताहरूको साथ उनको साथमा रह्यो। विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, उदय शमशेर राणालगायतका नेताहरूको भूमिका यस अर्थमा महत्त्वपूर्ण रह्यो कि यो परिवर्तन कुनै एक व्यक्तिको महत्वाकांक्षा होइन, सामूहिक दबाब र चाहनाको परिणाम हो भन्ने सन्देश पार्टीभित्र र बाहिर दुवै ठाउँमा गयो।
अब प्रश्न उठ्छ , गगन नेतृत्वको कांग्रेसले आगामी निर्वाचनमा आफूलाई कसरी स्थापित गर्ने ? कांग्रेसको सबैभन्दा ठूलो शक्ति यसको लोकतान्त्रिक विरासत हो। तर त्यो विरासत केवल इतिहासको किताबमा सीमित भयो भने मतदातालाई आकर्षित गर्न सक्दैन। गगन थापाको नेतृत्वले यो विरासतलाई व्यवहारमा उतार्नुपर्छ -पार्टीभित्र लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाएर।
आगामी निर्वाचनमा कांग्रेसले पुरानो नामको भरमा होइन, स्पष्ट विचार र काम गर्ने क्षमता देखाएर जनताको विश्वास जित्नुपर्नेछ। युवाहरू रोजगारी, अवसर र सुशासन खोजिरहेका छन्। मध्यम वर्ग स्थिरता र आर्थिक सुरक्षाको अपेक्षामा छ। ग्रामीण क्षेत्र विकास र सम्मानको आशामा छन्। यी सबै अपेक्षालाई सम्बोधन गर्ने सरल, स्पष्ट र व्यवहारिक एजेन्डा बिना कांग्रेस फेरि बलियो लोकतान्त्रिक शक्ति बन्न सक्दैन।
यसका लागि सबैभन्दा पहिला कांग्रेसभित्रको विवाद व्यवस्थापन गर्नु अनिवार्य छ। असहमति लोकतन्त्रको सुन्दर पक्ष हो, तर असन्तुष्टि दीर्घकालीन बने पार्टी कमजोर हुन्छ। गगन थापाले असन्तुष्ट समूहलाई दबाउने होइन, संवाद र समेट्ने बाटो रोज्नुपर्नेछ। पार्टी एक देखिनु मात्र होइन, भित्रबाटै एक हुनु आगामी निर्वाचनको पहिलो सर्त हो।
त्यसपछि, कांग्रेसले आफूलाई केवल सत्ताको विकल्प होइन, भरोसाको विकल्पका रूपमा प्रस्तुत गर्नुपर्छ। विगतमा कांग्रेसले गरेको योगदान सम्झाउनु महत्त्वपूर्ण छ, तर त्यससँगै आज के गर्छ भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ। जनताले ‘कांग्रेस फर्कियो’ होइन, ‘कांग्रेस बदलियो’ भन्ने अनुभूति गर्न पाउनुपर्छ।
गगन थापाको सभापतित्व यस अर्थमा अवसर हो कि कांग्रेसले फेरि लोकतान्त्रिक मूल्यको झण्डा मजबुतसँग उठाउन सक्छ। तर यो अवसर चेतावनी पनि हो। अपेक्षा ठूलो छ, समय सीमित छ र गल्तीको मूल्य महँगो हुन सक्छ। यदि गगन नेतृत्वको कांग्रेसले साहसलाई विवेकसँग जोड्दै पार्टीलाई एकताबद्ध, स्पष्ट र जनमुखी बनाउन सक्यो भने, आगामी निर्वाचनमा कांग्रेस केवल पुरानो विरासतको वाहक होइन, नेपालको लोकतान्त्रिक भविष्यको बलियो शक्ति भएर उभिन सक्छ।
(लेखक समाजप्रेसकी ग्लोबल इडिटर एवं नेजाकी कोषाध्यक्ष हुन् । )