काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आजदेखि आन्तरिक ‘प्राइमरी इलेक्सन’ सुरु गरेको छ। पार्टीका अनुसार मतदान आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म गर्न सकिनेछ।
प्राइमरी इलेक्सन पार्टीको मोबाइल एपमार्फत हुने छ। पुस ५ गतेसम्म नेपालभित्र वा बाहिरबाट पार्टी सदस्य बनेकाहरूले मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगको नयाँ क्लस्टर डिभिजनअनुसार ११० जनाको बन्दसूची तयार गरिनेछ, जसमा खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम क्लस्टर समेटिनेछन्। तीमध्ये कम्तीमा ५७ जना महिला उम्मेदवार अनिवार्य हुने प्रवक्ता मनिष झाले जानकारी दिए।
मतदानका क्रममा हरेक क्लस्टरबाट कम्तीमा १० प्रतिशत उम्मेदवार छनोट गर्नुपर्नेछ भने अधिकतम ११० जनासम्म मतदान गर्न सकिने व्यवस्था छ। ओटिपी प्रणालीमार्फत मतदान हुनेछ, जसको वैधता तीन घण्टासम्म रहने रास्वपाले जनाएको छ।
रास्वपाले यस अभ्यासलाई नेपाली राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रमा ग्राउन्डब्रेकिङ कदमका रूपमा लिएको छ। पार्टीका अनुसार सम्भावित प्राविधिक समस्या पहिचानका लागि गएराति ७ बजेदेखि १० बजेसम्म ‘मक इलेक्सन’समेत गरिएको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij