२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन

जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ। जिल्लस्थित कृषि विकास कार्यालयको तथ्यांकअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन्।

जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको कार्यालयले जनाएको छ। त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१-८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेको कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। उनका अनुसार चालु आवमा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको हो।

पछिल्लो समय जिल्लामा स्याउखेती गर्ने किसान बढ्दै गएका छन्। आव २०८१-८२ मा स्थानीय जातका र उच्च घनत्व (फुजी) स्याउको कूल उत्पादन आव २० हजार ५१२ मेट्रिकटन भएको थियो।

चालु आवमा उत्पादन घटेर १८ हजार २४५ मेट्रिकटन भएको कृषि विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार यो वर्ष असिना र बेमौसमी वर्षाले गर्दा १० प्रतिशतले उत्पादन घटेको हो।

अहिले एक हजार ७६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ। यो वर्ष जिल्लामा स्याउ बिक्रीमा संलग्न किसान सात हजार ३५० र व्यापारी ६०३ रहेका कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। नासो र कोसेलीमार्फत दुई हजार ६४८ मेट्रिकटन स्याउ जिल्लाबाट निर्यात भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij