२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

पर्वत : रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ।

रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत कार्तिक २९ गते नेपालमा तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा छुरा प्रहार गरेर घाइते बनाएका थिए।

हाल पोर्चुगलमा नै रहेर घटनाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा राखेका रमेशराज बास्तोलाका अनुसार उपचारकै क्रममा धनबहादुरको बिहीबार मृत्यु भएको छ।
धनबहादुरका छिमेकी कुलबहादुर के.सी.ले आफूलाई सुन्नमा आए अनुसार जङ्गल हाउसमा रहेको कोठामा चार जना बस्दै आएको र घटना हुँदाका दिनमा एक जना काममा, एक जना घुम्नका लागि दुई जना कोठामा रहेको बताए। खाना खाने बेलामा टिफिन बक्समा खाने किन नहालेको भन्ने विषयमा धनबहादुरमाथि आक्रमण भएको उनको भनाइ छ।

‘हामीलाई प्राप्त भएको खबर अनुसार खाना खाने बेलामा टिफिन बक्समा खाना किन नहालेको भन्दै लोकेन्द्रले धनबहादुरमाथि आक्रमण गरेको भन्ने छ। शरीरका विभिन्न भागमा छ पटक प्रहार गरेको र अत्यधिक मात्रामा रगत बगेको थाहा पाएका छौँ’, उनले भने, ‘उपचारको लागि पोर्चुगलको राम्रो अस्पतालमा भर्ना गरेको भए पनि उहाँ बाँच्नुभएन। आक्रमण गरेको मान्छेलाई त्यहाँको प्रहरीले पक्राउ गरेर राखेको छ।’

घटनाको बारेमा शुक्रवार बिहान मात्रै परिवारलाई जानकारी गराइएको र उनीहरूलाई सम्हाल्न नै मुस्किल परिरहेको के.सी.ले जानकारी दिए।

खौलाका वडाध्यक्ष तेजप्रसाद शर्माका अनुसार धनबहादुरको घर खौला स्थित खौलालाँकुरी माध्यमिक विद्यालयको नजिकै हो। उनी करिब डेढ वर्ष अगाडि घरबाट क्रोएसिया पुगेका थिए। त्यहाँबाट करिब छ महिना अगाडि पोर्चुगल पुगेका थिए।

सामान्य परिवारका क्षेत्रीका तीन छोरा र एक छोरी गरेर चार जना सन्तान छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij