काठमाडौं। नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने देखिन्छ। ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij