नेपालको राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको छ। लामो समयदेखि दलगत राजनीति र सत्ताकालीन असफलताप्रति निराश भएका नागरिकले उठाएको जेनजी आन्दोलनले मुलुकलाई नयाँ मार्गमा ल्याएको छ। डिजिटल पुस्ताले सुरु गरेको यो आन्दोलनले केवल विद्रोहको आवाज मात्र उठाएन, वैकल्पिक विकल्प खोज्ने दिशामा देशलाई धकेल्यो। त्यसैको परिणामस्वरूप सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनेको छ।
यो सरकार नेपालको राजनीतिक इतिहासमै एउटा नयाँ अध्याय हो। दलको प्रत्यक्ष नियन्त्रणभन्दा बाहिर, नागरिक दबाब र आन्दोलनको शक्ति स्वरूप जन्मिएको यो संरचनाले पुराना अभ्यासलाई चुनौती दिएको छ। यसले प्रमाणित गरिसकेको छ—नागरिकको चाहना र सहभागिता बेवास्ता गर्ने परम्परा अब टिक्दैन।
नयाँ सरकारले गठन भएको केही समयमै गरेको पहिलो महत्वपूर्ण निर्णय भनेकै आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा हो। यो केवल निर्वाचन मिति तोक्ने काम मात्र होइन, देशलाई राजनीतिक अस्थिरता र अविश्वासको चक्रबाट निकाल्ने ठूलो प्रयास पनि हो। दशकौँदेखि दलहरूबीचको द्वन्द्व र अविश्वासका कारण राजनीति लगातार कमजोर हुँदै गएको अवस्थामा यो निर्वाचन मुलुकलाई नयाँ दिशा दिने अवसर बन्न सक्छ।
तर निर्वाचन मिति घोषणा हुनु मात्र पर्याप्त छैन। यो निर्वाचनलाई सफल बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज र जनतासम्म सबैले आफ्नो भूमिकालाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ। निर्वाचनलाई पारदर्शी, स्वतन्त्र र निष्पक्ष बनाउन नसकिए यो नागरिक सरकार र जेनजी आन्दोलनले दिएको आशा फेरि निराशामा परिणत हुन सक्छ।
दलहरूको औचित्य अब चुनावी मैदानमै प्रमाणित हुनुपर्छ। जेनजी आन्दोलनको उदय नै दलप्रतिको असन्तुष्टि र अविश्वासको परिणाम थियो। त्यसैले अब दलहरूले नागरिकको चाहना बुझ्न, आफ्नो नीति व्यवहार सुधार गर्न र मतदाताको भरोसा पुनः आर्जन गर्न निर्वाचनलाई अवसरका रूपमा लिनुपर्छ। केवल चुनाव जित्ने ध्येयले होइन, नागरिकलाई सन्तुष्ट पार्ने शासन–प्रणाली निर्माण गर्ने जिम्मेवारीलाई आत्मसात् गर्न जरुरी छ।
यसबीच नागरिक सरकारमाथि पनि ठूलो जिम्मेवारी छ। यसले चुनावसम्म देशलाई स्थिर र विश्वासयोग्य वातावरण दिनुपर्छ, भ्रष्टाचार र गैरजिम्मेवारीलाई नियन्त्रण गर्नुपर्छ र आगामी नीति–निर्णयमा स्पष्ट जवाफदेहिता देखाउनुपर्छ। चुनावी मैदानलाई निष्पक्ष बनाउन नसकेमा या कुनै पक्षीय हस्तक्षेप बढेमा यसको नैतिक वैधता कमजोर हुनेछ।
नेपालको राजनीति आज एउटा दोबाटोमा छ। एक पाटोमा जेनजी आन्दोलनले ल्याएको नयाँ उत्साह र नागरिक सरकारको प्रयोग छ, अर्को पाटोमा दशकौँदेखि देशलाई चलाएका परम्परागत दलहरूको अस्तित्व र चुनौती। फागुन २१ को निर्वाचन नै अब निर्णायक मोड हुनेछ—जहाँ दलहरूले आफ्नो औचित्य प्रमाणित गर्नुपर्नेछ र नागरिक सरकारले आफ्नो ईमानदार प्रतिबद्धता देखाउनुपर्नेछ।
जेनजी आन्दोलनले नागरिकको आवाजलाई सत्ता परिवर्तनको केन्द्रमा पुर्याइदिएको छ। सुशीला कार्कीको नेतृत्वमा बनेको नागरिक सरकार त्यसको पहिलो उपलब्धि हो। तर अबको बाटो सजिलो छैन। लोकतन्त्रलाई अझ पारदर्शी, जवाफदेही र जनमुखी बनाउन सबैले योगदान दिनुपर्नेछ। आगामी निर्वाचनलाई सफल बनाउन सकियो भने नेपालले नयाँ राजनीतिक संस्कृतिको जग बसाल्नेछ। असफल भयो भने फेरि पनि निराशा र अस्थिरताको अँध्यारोमा फर्किनुपर्नेछ।
-लेखक समाज प्रेसकी ग्लोबल इडिटर हुन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij