२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरवारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताए।

सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिए। भ्रष्ट आचरण भएका व्यक्ति छन् भने पदासीन भए पनि तिनले मनदेखि अरूको सम्मान नपाउने उनको भनाइ छ ।

उनले संयुक्त राष्ट्रसंघको भनाइ उद्धृत गर्दै ‘कोही पनि पछि नपरून्’ (नो वान लेफ्ट बिहाइन्ड) भनेर मानिसका जैविक आवश्यकता परिपूर्ति र सम्मानित एवं सुरक्षित जीवनयापनका लागि दृढ संकल्प गर्न आग्रह गरे ।

“नेपाललाई विकसित मुलुकमा रूपान्तरणका लागि हामीले सुशासनको दृढ संकल्प लिएर दौडन आवश्यक छ । अहिले असन्तुष्टि भड्काएर अराजकता मच्चाउन खोजिएको छ । त्यसबाट बच्न हामीले मानिसलाई ज्ञानसँगै राम्रो कामका लागि सचेतना गराउनुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “प्राकृतिक रूपमा उर्वर र ज्ञानको उद्भवभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन । अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ । त्यस क्रममा सतर्कता केन्द्रले सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij