चलचित्रलाई अभिव्यक्तिको सबैभन्दा प्रभावशाली माध्यम मानिन्छ । हजारौँ मानिसले एकै समयमा फरक फरक स्थानमा बसेर पनि एकै खालको संवेदना अनुभूत गर्ने हुनाले चलचित्रले प्रभावशाली हुने सौभाग्य पाएको हो । विश्वका एउटा कुनाको मानिसले आफ्नो कथामा बनाएको चलचित्रले अर्को कुनाको मानिसलाई छुन्छ । कलाका अन्य विधामा यो सामथ्र्य विरलै पाइन्छ ।
कलाको यो जादूले नेपाली समाजलाई पनि मोहित पारेको छ । २००६ सालदेखि सर्वसाधारणका लागि खुलेका चलचित्र भवनमा विश्वभरका चलचित्र लाग्छन् र नेपाली समाज तिनको सक्रिय ग्राहक रहँदै आएको छ । चलचित्र निर्माणमा पनि नेपाली चलचित्रले ६ दशक पार गरिसकेको छ ।
पछिल्ला वर्षमा नेपाली चलचित्रले गुणात्मक र परिमाणात्मक दुवै हिसाबमा उल्लेखनीय फड्को मारेको छ । वर्षमा एकाध चलचित्र बन्ने समय पार गरेर नेपाली चलचित्रले अहिले वर्षेनी सयको हाराहारीमा चलचित्र निर्माण गर्न थालेको छ । तर यसको विश्वव्यापी खतरा यथावत् छ अर्थात् आज पनि सबै नेपाली चलचित्रले लगानी उठाउन सक्दैनन् । प्रदर्शनमा आएका चलचित्रमध्ये सफल हुने चलचित्रको संख्या अति न्यून छ । तर सफल चलचित्रले घरेलु बजारबाट मात्र ५० करोड हाराहारी व्यापार गर्न थालेका छन् । यसलाई नेपालमा चलचित्रप्रति दर्शकको रुचि र लगावको नयाँ मानक मानिएको छ । देशको अर्थतन्त्र नकारात्मक बाटोमा रहेको बेला नेपाली चलचित्रले पाएको यो सफलताले यो माध्यमको स्वीकार्यताको उचाइ बयान गर्छन् । तर सबै चलचित्रले यस्तो सौभाग्य पाउँदैनन् । एक वर्षमा रिलिज हुने ६० हाराहारीका चलचित्र मध्ये चार पाँचवटा चलचित्रले मात्र हलबाट लगानी सुरक्षित गर्छन् ।
नेपाली चलचित्र उद्योगमा परिवर्तनका लहरहरु चाँडोचाँडो आइरहेका छन् । चलचित्र निर्माणको बजेट बढेको छ र संख्या पनि । फिल्म बनाउने उद्देश्यदेखि फिल्मको स्वरुप र ढाँचाका सम्बन्धमा पनि गहन बहस हुन थालेका छन् । योसँगै फिल्मको संरचना र कथा भन्ने शैलीमा पनि सुक्ष्म परिवर्तन आइरहेको देख्न सकिन्छ । पछिल्लो दशकमा बनेका केही नेपाली फिल्मले कथ्य संरचनामा व्यापक प्रभाव पारेका छन् । यसले गर्दा हिजोका दिनमा झेल्नै मुस्किल हुने नेपाली चलचित्रले पहिलेझैँ बारे गर्दैनन् । आहा भन्ने नभए पनि छ्याको स्तरबाट विस्तारै माथि उठ्न थालेका छन् ।
नेपालको फिल्म निर्माण परम्परामा बलिउडको प्रत्यक्ष प्रभाव थियो । यो प्रभाव फिल्मको कथा छनोटमा मात्र होइन यसको प्रस्तुतिमा पनि सरोबर थियो । सामाजिक तथा सांस्कृतिक समानताका कारण यसो हुनु अन्यथा हैन तर नेपालको पनि आफ्नै संस्कृति , परम्परा र रीतिरिवाज थियो र छ, तर त्यो कुराको प्रभाव ग्रहण गर्न नसक्नु नेपाली फिल्मका लागि दुर्भाग्य रह्यो । त्यसैले लामो समयसम्म नेपाली फिल्मको मौलिकताको बहस बलिउड शैलीबाट मुक्त हुनुमा मात्र खुम्चिएको थियो । गीत, फाइट र मान्छे भिलेन नभएको फिल्मलाई मौलिक देख्ने र तिनलाई रातारात काँधमा बोक्नु पर्ने बाध्यता यही अवस्थाको उपज हो । तर, यही बीचमा विदेशी फेस्टिभल र पश्चिमाले देख्न चाहे जस्ता बनेका फिल्मले पनि मौलिकताको बहसलाई खुम्च्याइ दिएका छन् । समाजमा बिस्तारै त्यस्ता फिल्मप्रति पनि औंला उठ्न थालेका छन् जसले अन्तर्राष्ट्रिय फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरेका त छन् तर तथ्यको प्रस्तुतिमा इमान्दार छैनन् ।
‘स्टेरियोटाइप’ नेपाली सिनेमाको सबैभन्दा ठूलो समस्या हो । एकै खाले कथा, चरित्र, गीत, संगीत र प्रस्तुतिमा नेपाली सिनेमाले ५० भन्दा बढी भोटो फटायो । भोटा त फाटे तर सिनेमामा परिपक्वता आएन । परिवक्वता किन आएन ? यो यस्तो प्रश्न हो जसमाथि व्यापक बहस हुन जरुरी छ । तर, सतहमा देखिएको कारण चैं फिल्ममा सक्रिय निर्माता निर्देशकको सामाजिक सांस्कृतिक ज्ञान र फिल्म बनाउने उद्देश्यमा गएर ठोकिन्छ । पछिल्लो दशकमा नयाँ पुस्ताका फिल्मकर्मीको आगमनले फिल्मप्रतिको बुझाइमा व्यापकता आएको छ । पछिल्लो समयका फिल्मकर्मी विश्व फिल्मको धार र प्रवृत्तिबारे राम्रै ज्ञान राख्न थालेका छन् तर, सोही ज्ञान आफूले फिल्म बनाउँदा प्रमाणित गर्न सकेका छैनन् । उनीहरुले कथाको ‘स्टेरियोटाइप’ तोड्दै फरक फरक विधामा फिल्म बनाउने आँट गरे पनि कुरालाई काममा बदल्ने क्षमता प्रमाणित गर्न सकेका छैनन् ।
नेपालमा अहिले दुई स्वादका चलचित्र बन्ने परिपाटी देखिन्छ । एउटा घरेलु बजारका लागि चलचित्र बनाउने । उफ्रन पाइयो भने भारतका नेपालीभाषीसम्म पुग्ने । अर्को छ, फेस्टिभल केन्द्रित चलचित्र बनाउने र विश्व बजारमा रिलिज गर्ने । अन्तिममा सकेसम्म घरेलु बजारमा पनि रिलिज गरेर लगानी उठाउने ।
यसले गर्दा नेपालमा फिल्म निर्माणमा नयाँ शैलीको आगमन भएको छ र यसले घरेलु दर्शकको चलचित्र साक्षरतामा व्यापक काम गरिरहेको छ । यो साक्षरता दुवै खाले चलचित्रका लागि चुनौती र अवसर हो । दर्शकको अपेक्षामा खरो उत्रन चुनौती छ भने कथंकदाचित उत्रियो भने जीवनभरिका लागि पुग्ने सम्मान र अवसर छ । हिजोको दिनमा यो अवस्था थिएन । असफलता र सफलताको बीचमा रौँ बराबर भिन्नता थियो ।
आजका दिनमा नेपाली चलचित्रसँग दुई विकल्प छन् जुन हिजोका दिनमा थिएनन् । पहिलो विकल्प हो, घरेलु बजारका लागि दर्शकको ढुकढुकी छामेर प्रतिस्पर्धी चलचित्र बनाउने । अर्को विकल्प हो, नयाँ कथाको खोजीमा रहेका विदेशी चलचित्र बजारमा आफ्नो उपस्थिति जनाउने ।
विश्वका ठूला चलचित्र उद्योग पनि फिल्म महोत्सवमार्फत् नयाँ स्वाद र शैलीको खोजीमा रहेका हुन्छन् । सांस्कृतिक र भौगौलिक विविधता भएको नेपाल जस्तो देशका कथा, उनीहरुको खोजीमा एकाकार हुने सामथ्र्य राख्छन् । किनकि विश्वका ठूला भनिएका चलचित्र उद्योगले दक्षिण एसियालाई विभिन्न ग्रान्ट र सुविधाका लागि प्रश्रय दिने नीति लागू गरेका छन् । त्यसैले नेपाल जस्तो सानो भूगोलमा छिटो छिटो भएका सामाजिक तथा राजनीतिक परिवर्तनका कथामा उनीहरुले चाख दिन सक्छन् ।
घरेलु बजारका लागि चाहिँ प्रतिस्पर्धी चलचित्र बनाउनुको विकल्प छैन । प्रतिस्पर्धी चलचित्रले हलिउड र बलिउडका चलचित्रलाई मात्र पाखा लगाउँदैनन्, उनीहरुले दर्शकलाई घरबाट तानेर हलसम्म ल्याउने सामाथ्र्य पनि राख्छन् । पूर्णबहादुरको सारङ्गीले यही गरेको हो । एकाध चलचित्रले यस्तै सफलता दोहोर्याउने हो भने नेपाली चलचित्रको बजार एक अर्बको हुने र नेपाली चलचित्र पनि सय करोड क्लबमा प्रवेश गरेको समाचार प्रसारित हुने समय धेरै टाढा छैन ।
यसका लागि नेपाली चलचित्रको चरित्र के हो ? दर्शकको रुचि केमा छ ? यसको शैली र स्वाद के हो ? हलिउड वा बलिउडका फिल्मभन्दा यसको भिन्न विशेषता के हो ? आदि कुराको उत्तर खोज्न जरुरी छ । यस्ता प्रश्नको उत्तर खोज्न सकेर त्यही अनुसारको चलचित्र निर्माण गर्ने हो भने नेपाली चलचित्रले छलाङ मार्ने समय आएको छ । किनकि नेपाली चलचित्र अब दुःख र सुख दुवैमा सहयोगी बन्ने क्रम बढेको छ ।
यसका लागि निर्माता÷निर्देशकको सोच र क्षमता एकातिर आवश्यक छ भने अर्कातिर सहयोगी समाज पनि चाहिन्छ । सर्जकको शिल्पलाई सरकार र निजी क्षेत्रले हैँसे गर्न जरुरी छ । नत्र भने नेपाली चलचित्रले पाइरहेको यो सफलता पनि विस्तारै खुम्चँदै गएर पाकिस्तानको चलचित्र उद्योग झैँ हुने खतरा छ ।
(लेखक चलचित्र समिक्षक समाजका अध्यक्ष हुन् ।)
© 2026 All right reserved to samajpress.com | Site By : Sobij