काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानव सभ्यताको कलङ्कको संज्ञा दिँदै यो मानवीय गरिमाविरुद्धको अपराध रहेको बताएका छन् । उनले यस प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याए ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना दिँदै उनले यस प्रथाको विरुद्धमा सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन सङ्घ, प्रदेश, स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, सुरक्षा निकायलगायत सामाजिक सङ्घसंस्थालाई आह्वान गरे ।
उनले यस दिवसबाट आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि भई सुसंस्कृत र छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिल्नुका साथै आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका उत्पीडनको क्रमशः अन्त्य हुँदै जाने आधार निर्माण हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी यस दिवसबाट सबै जातजाति र समुदायबिच आपसी एकता, मेलमिलाप र सहयोगको भावना वृद्धि गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउने उनको विश्वास छ ।
संविधानले सबै प्रकारका विभेद र छुवाछूतको अन्त्य गरी समानुपातिक र समावेशी सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको उल्लेख गर्दै उनले विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारण अझै पनि जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्य हुन सकिरहेको छैन भनेका छन् ।
विसं २०६३ मा मुलुकलाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाउने गरिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij