काठमाडौँ- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले थालेको झोले अभियानको गलत ढंगले प्रचार भइरहेको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने सञ्चार मन्त्री समेत रहेका उनले आफूलाई एमालेको झोले हुन पाउँदा गर्व रहेको बताए ।
उनले भने, ‘अहिलेको प्रधानमन्त्री एमालेको अध्यक्ष हुनुहुन्छ, उहाँले भन्नुभएको झोले चाहिँ हामी पार्टीको झोला बोक्ने भन्नुभएको हो । त्यसलाई गलत अर्थमा व्याख्या गरिरहेको छ । सोसल मिडियामा, जुन पार्टीको होलटाइमर भएर लामो समयसम्म झोला बोक्यो, काम गर्यो, त्यसको नीति, सिद्धान्त पनि त्यही झोलामा राखेको हुन्छ। विचार पनि त्यही झोलामा राखेको हुन्छ । एमालेको झोले हुन म पनि तयार छु, किनकि एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त बोकेको छ। आज जबजको नाममा हामीले अगाडि बढाएको कार्यक्रम पनि त्यही झोलामा छ । एमालेको राष्ट्रियता, कूटनीतिक, लोकतन्त्रसम्बन्धी सिद्धान्त पनि त्यही झोलामा छ, हाम्रो दर्शन, सिद्धान्त, विचार र राजनीति सबै बोकेर जो हिँड्छ त्यो एमालेको झोले हो । एमालेको झोला बोक्ने कुराले सबैले गर्व महसुस गर्नुपर्छ । म पनि एमालेको राष्ट्रियताको झोला बोक्ने मान्छे हुँ । त्यसैले म पनि झोले हो एमालेको। हामीले यसलाई सकारात्मक अर्थमा हेर्नुपर्छ, केपी ओलीको झोले भन्यो भने अनर्थ हुन्छ, एमालेभित्रको पनि कतिले भनेका होलान्, शब्द चयन राम्रो भएन भनेर। तर, त्यसको अर्थ एमाले हुनुमा गर्व गर भनेका हौँ ।’
© 2026 All right reserved to samajpress.com | Site By : Sobij