२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित, सरकारी दरमा भएन किनबेच

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित, सरकारी दरमा भएन किनबेच

चितवन। चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित छन्। सरकारले चैते धानको समर्थन मूल्य २ हजार ८ सय ७९ रुपैयाँ तोकेको छ। तर, यहाँका किसान १ हजारदेखि १ हजार ८०० रुपैयाँसम्ममा बेच्न बाध्य छन्।

धान थन्क्याउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन्। खैरहनी-१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न छन्। दुई बिघामा चैते धान लगाएका उनी समर्थन मूल्य नपाउदा आगामी वर्षदेखि धानखेती नगर्ने कि भन्ने दोधारमा छन्।

समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य संगका पदाधिकारीसँग छलफल गरेको उनले बताए। राप्ती-५ का धर्मराज कँडेल पनि धानको मूल्य नपाएपछि निराश छन्। जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहेका कँडेल धानको समर्थन मूल्य पाउनुपर्नेमा जोड दिन्छन्।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धानखेती हुने गरेको छ।

कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएका बताए। स्थानीय व्यवसायी र सरोकार भएकाहरूबीचमा छलफल जारी रहेको जानकारी दिँदै उनले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गरे।

चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धानखेती भएको छ। गत वर्ष नौ हजार ५०० हेक्टरमा चैते धान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij