काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरुले महाधिवेशन गर्नभन्दा विधानविपरीत काम गर्न उद्यत रहेकाले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज बुढानिलकण्ठमा ज्ञापनपत्र बुझाउँदै नेविसंघका केन्द्रीय सदस्यहरुले ६ महिनामा महाधिवेशन गराउनुपर्ने म्याण्डेट पाएपनि ३ वर्षसम्म महाधिवेशनको वातावरण बनाउन कुनै भूमिका निर्वाह नगरेकाले अध्यक्ष शेर्पालाई बर्खास्त गरी नेविसंघको नयाँ तदर्थ समिति बनाउन माग गरेका हुन् । उनीहरुले पछिल्लो पटक पार्टीले थप गरेको म्याद चैत मसान्तमा सकिएको स्मरण गराउँदै अब पनि म्याद थप भए नेविसंघका सयौं केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने चेतावनी पनि दिएका छन् ।
ज्ञापन पत्र बुझ्दै सभापति देउवाले नेविसंघको महाधिवेशन आफ्नो पनि चिन्ताको विषय रहेको भन्दै उपयुक्त निष्कर्ष निकाल्ने आश्वासन दिएका छन् ।


© 2026 All right reserved to samajpress.com | Site By : Sobij