२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो

गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो

गोरखा । गोरखाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको हो ।

छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो । त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो । अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ ।

‘हामीले नौ दिन लगाएर उत्खनन गर्‍यौँ’, विभागका अधिकृत अधिकारीले भने, ‘यहाँ भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुङ्गा, जगको ढुङ्गा, ठाउँठाउँमा नासिएको, ठाउँठाउँमा बचेको भेटियो । तामाको दियो, सिक्काहरू पनि भेटिएका छन्, धातुका वस्तु पछिका हुन सक्छन् । इँटा, ढुङ्गा, मन्दिरको डिजाइनलगायत अध्ययन गर्दा यो सत्रौँदेखि अठारौँ शताब्दीमा बनेका हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ ।’ यसपटक समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उनले बताए ।

सो स्थानमा २०३४ सालमा राममन्दिर बनाउँदा पनि केही भग्नावशेष नष्ट भएका थिए । ‘गत वर्ष पनि यहाँ एक्साभेटर लगाएर जग्गा सम्याउँदा, पीपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको कतिपय भाग नष्ट भएको छ । त्यसैले यसको अध्ययन गर्न कठिन भइरहेको छ’, अधिकारीले भने, ‘अहिलेको कार्यादेशअनुसार उत्खननको समय र सीमा समाप्त भइसकेको छ तर, अझै सकिएको छैन । अब अर्को वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने छौँ ।’

उनका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ । ‘जग हेर्दा इँटा, ढुङ्गाबाट निर्माण भएको र झिङ्गटीले छाएको कम्तीमा दुई तलाको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने यकिन हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij