एजेन्सी । राजस्थान रोयल्सका १४ वर्षीय ओपनर वैभव सूर्यवंशीले आइपीएल २०२५ को गुजरात टाइटन्स विरुद्धको खेलमा ऐतिहासिक इनिङ खेलेका छन् ।
उनले यस खेलमा शतक प्रहार गरे र धेरै रेकर्ड पनि तोडेका छन् । उनले ३५ बलमा आफ्नो आईपीएल करियरको पहिलो शतक प्रहार गरेर आफ्नो नाममा ठूलो रेकर्ड बनाए ।
वैभव १४ वर्ष ३२ दिनका छन्, तर उनले युसुफ पठानको १५ वर्ष पुरानो रेकर्ड तोडेका छन्। वैभव आइपीएलमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी बनेका छन्। २०१० मा, युसुफ पठानले मुम्बई इन्डियन्सविरुद्ध ३५ बलमा शतक बनाए र प्रतियोगितामा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी बने । उनको रेकर्ड अब २०२५ मा तोडिएको छ । अर्थात्, वैभव नजन्मिदै युसुफले आइपिएलमा बनाएको यो रेकर्ड अब तोडिएको छ । समग्रमा, आईपीएलमा सबैभन्दा छिटो शतकको रेकर्ड क्रिस गेलको नाममा छ जसले २०१३ मा पुणे वारियर्स विरुद्ध ३० बलमा शतक बनाएका थिए ।
वैभव टी-२० क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान पनि बनेका छन् । उनले १४ वर्ष ३२ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् । वैभवले महाराष्ट्रका विजय जोलको रेकर्ड तोडेका छन् जसले १८ वर्ष ११८ दिनको उमेरमा टी-२० मा शतक बनाएका थिए । विजयले २०१३ मा टी-२० मा शतक बनाएका थिए । वैभवले गुजरातविरुद्ध १७ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए र त्यसपछि अर्को १८ बलमा शतक पूरा गरे । वैभव शतकीय इनिङ खेलेपछि आउट भए । उनले २६५.७८ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै केवल ३८ बलमा १०१ रन बनाए । यस अवधिमा उनको ब्याटबाट सात चौका र ११ छक्का निस्किएका थिए ।
वैभवले गुजरातविरुद्ध ब्याटिङ गर्दा ११ छक्का प्रहार गरे जुन आईपीएल २०२५ मा कुनै पनि ब्याट्सम्यानले एक इनिङमा प्रहार गरेको सबैभन्दा धेरै छक्का हो । यस मामिलामा वैभवले सनराइजर्स हैदराबादका अभिषेक शर्मालाई पछि पारे, जसले पञ्जाब किंग्सविरुद्ध १० छक्का प्रहार गरेका थिए । यस सूचीमा तेस्रो स्थानमा पञ्जाबका कप्तान श्रेयस अय्यर छन् जसले गुजरातविरुद्ध नौ छक्का प्रहार गरेका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij